‘बाघकाे भूमि’ मा ४४ औँ विश्व पर्यटन दिवस मनाइँदै

 असोज ९, २०८० मंगलबार १६:४६:५३ | भावुक योगी
unn.prixa.net

बर्दिया – पर्यटन र हरित लगानी नारासहित ४४ औँ विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबा नगरपालिकामा भोलि बुधवार भव्य कार्यक्रम गरी मनाइने भएको छ । हरेक वर्ष २७ सेप्टेम्बर २०२३ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको सहभागितामा जिल्लाका प्रमुख पर्यटकीय गतिविधिहरूका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाइने मेयर तिलराम लम्सालले जानकारी दिनुभयो ।

लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लालाई 'ल्यान्ड अफ टाइगर' (बाघको भूमि) बर्दिया जाउँ : पर्यटन गतिविधिसँगै प्रकृति र संस्कृतिमा रमाऔँ, विश्व पर्यटन दिवस २०८० भव्यरूपमा सफल पारौँ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाउन लागिएकाे हाे । यस अवसरमा ठाकुरद्वाराका पर्यटकीय होटलहरूमा असोज महिनाभरि आरामदायी आवासमा २५ प्रतिशत छुट दिइने भएकाले प्रकृति र संस्कृतिको आनन्द लिन पनि अनुरोध गरिएको छ ।

बर्दियामा बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसँगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतिसँगै हाेमस्टेहरूमा स्थानीय परिकार खान पाइन्छ । यस्तै ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्जभित्र जङ्गल वाक, जीप सफारी, र्‍याफ्टिङ, क्याम्प्ङि, फिसिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमा रमाउन सकिन्छ ।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशकाे प्रवर्धन तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा पर्यटकीय गतिविधिका बारेमा गरिने सन्देशमूलक कार्यले सिङ्गाे जिल्लालाई चिनाउने अवसर प्राप्त हुने ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले बताउनुभयाे ।

बर्दियाका प्रमुख पर्यटकीय गतिविधि समेटिएका सन्देशमूलक सूचना, ब्रोसर, पोस्टर, पम्प्लेट, भिडियो डकुमेन्ट्री निर्माण तथा प्रर्दशन गरी आन्तरिक पर्यटक बढाउन प्रचारप्रसार गरिने होटल सङ्घ बर्दियाका अध्यक्ष एवम् प्रचारप्रसार उपसमितिका संयोजक मोहनलाल चौधरीले बताउनुभयो ।

पर्यटन क्रियाकलापअन्तर्गत जीप सफारी, हात्तीबाट गज परिक्रमा, ऐतिहासिक ठाकुरद्वारा मन्दिरमा महाआरती अवलोकन, स्लो साइक्लिङ रेस, निकुञ्ज परिसर अवलोकनका साथै स्थानीयस्तरमा बर्दिया घुम्न जाउँ भन्ने खालका सामाजिक सञ्जालका लागि चार वटा विधामा भिडियो प्रतियोगिता र चित्र चिन्ने प्रतियोगिता पनि समावेश गरिएको छ ।

विश्व पर्यटन दिवसका लागि लुम्बिनी प्रदेश र नगरपालिकाबाट गरी झन्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीसहित सङ्घ तथा अन्य सासंद, बर्दियाका सबै पालिकाका प्रमुख तथा उपप्रमुख, बर्दियासहित लुम्बिनी प्रदेश र भारतको उत्तर प्रदेशका सञ्चारकर्मीलगायतकाे पनि सहभागिता हुने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया