ताप्लेजुङका किसानलाई अलैँची टिप्ने चटारो, भाउ बढेपछि हर्षित

 असोज ११, २०८० बिहिबार १०:३५:४० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङका किसानलाई प्रमुख नगदेबाली अलैँची टिप्ने चटारो छ । खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा अलैँची पाक्न थालेको छ ।

किसानहरु अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । गाउँमा अलैँची बगान भएका तर जिल्ला सदरमुकामतिर बसेका व्याक्तिहरु समेत अलैँची टिप्न गाउँ फर्किएका छन् । भदौ १० गतेदेखि अलैँची टिप्न शुरु गरिएकाे हाे । कात्तिक महिनाको अन्तिमसम्म नै अलैँची टिप्ने कामको चटारो हुन्छ ।

पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटारो परेको हो । सबैतिर एकै पटक अलैँची टिप्ने र थन्क्याउने काम भइरहेकाले काम गर्ने जनशक्तिको अभाव हुन थालेको मैवाखोला गाउँपालिका-४ का लेखनाथ गौतमले बताउनुभयो ।

ताप्लेजुङमा झण्डै चार हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने  दुई हजार ५०० मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ । यसवर्ष अलैँचीको मूल्य पनि राम्रो भएकाले किसान उत्साहित छन् ।

अहिले अलैँची प्रतिमन अर्थात् (४० किलो) को ५५ देखि ६० हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । यसपालि भाउ बढे पनि अलैँचीको उत्पादन ५० प्रतिशतले घट्ने सम्भावना रहेको रेग्मीले बताउनुभयो । 

किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार २०० मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ ८/१० देखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार २०० देखि एक हजार ८०० सम्मको उचाइमा गरिएको खेतीमा असोज पहिलो हप्तादेखि अलैँची टिप्न शुरु गरिन्छ । एक हजार ८०० देखि माथि लेक क्षेत्रमा कात्तिकदेखि कात्तिकभरी नै अलैँची टिप्ने गरिएको छ । 

यसवर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।  कालो सुनकाे नामले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरुमा धेरै उत्पादन हुने गरेको छ ।  यसरी उत्पादन भएको  अलैँचीको मूल्य विगत ६ वर्षयताकै उच्च भएको छ । 

भाउ बढे पनि यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएका कारण र राेग लागेकाले उत्पादन घट्न सक्ने किसानकाे अनुमान छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया