खाडीबाट फर्किनुभएकी कौशिला भन्नुहुन्छ : मलाई त आफन्तले फसाए, तपाईँ घरेलु काममा खाडी नजानुहोस्’

 कात्तिक १७, २०८० शुक्रबार १७:१४:३३ | रासस
unn.prixa.net

बागलुङ – सात समुन्द्र पारीको देश । मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती दिनार बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’     

कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गर्नुभयो । आफूलाई जबरजस्ती गर्न खोज्ने पुरुषलाई भुईँमा पछार्नुभयो । हतार हतार कोठाको चुकुल लगाउनुभयो र आफूलाई बचाउनुभयो । 

त्यसपछि सुरु भए उहाँका थप कष्टका दिन । घरेलु कामदारका रूपमा कुवेत पुग्नुभएकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो ।

आफन्तकै सल्लाहमा क्लिनरको काममा भनेर कुवेत पुग्नुभएकी उहाँ त्यहाँ पुग्दा घरेलु कामदार बन्नुभयो । कुवेत पुगेको दुई साता नबित्दै कौशिलामाथि हिंसाको प्रयास भयो ।     

हिंसात्मक घटनामा प्रतिकार गरेकैले उहाँलाई २८ दिनमा तीन ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडीका देशमा महिलामाथि हुने हिंसाका घटनाका विषयमा धेरैथोरै समाचार सुनिरहनुभएकी कौशिलाले कुवेतमा बसेर घरको ऋण तिर्नभन्दा पनि स्वदेश नै फर्किने निर्णय लिनुभयो ।

‘मेरै आँखा अगाडि एक एजेन्टले नौ सय कुवेती दिनारमा एक नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन’ कौशिलाले भन्नुभयो ‘मैले नेपाल फर्किने बाटो खोजेँ ।’ 

उहाँले नेपाल फर्किन खोजेको यहाँ रहेका एजेन्टले थाहा पाएपछि कौशिलाको मोबाइल खोसियो । बन्द कोठामा बिना काम राखेर मानसिक तनाव मात्रै दिने गरेको उहाँले सुनाउनुभयो ।     

‘नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेन्ट दिए, दुईथरी डकुमेन्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो’ कौशिलाले भन्नुभयो ‘नेपालकै विमानस्थलमा दुईथरी डकुमेन्ट र भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर विमानस्थलमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो, घरेलु काममा लगायो, केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।’     

कुवेतमै रहेकी एक नेपालीको मोबाइलको सहारामा माइती नेपाल र सुरक्षित आप्रवासन सामी कार्यक्रममा सम्पर्क गर्नुभएकी उहाँले सबै कागज भने सुरक्षित राख्नुभएको थियो । बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रमले उहाँको सबै डकुमेन्ट मगायो । कौशिलाले समय समयमा लुकीलुकी डकुमेन्ट उपलब्ध गराउनुभयो । सामी कार्यक्रमले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा कौशिलासम्म पुगेर सकुशल उहाँलाई नेपाल ल्यायो।     

‘मैले एजेन्टलाई कि मलाई नेपाल फर्काऊ होइन भने चार तलामाथि छु, हाम फालेर मर्छु, तँ पर्छस् भनेँ ’ कौशिलाले भन्नुभयो ‘मरे शव ल्याउन पहल गर्छु भनेर उसले जवाफ दियो ।’

सामी कार्यक्रमले दिनरात नभनी आफ्नो उद्धार गरेको उहाँले बताउनुभयो । ‘कौशिला सचेत हुनुहुँदो रहेछ, हामीसँग समयमा सम्पर्कमा आउनुभयो र आवश्यक कागजात सबै उपलब्ध हुँदा उद्धारमा सहज भयो’ सामी कार्यक्रमका परामर्शदाता गङ्गा रिजालले भन्नुभयो, ‘गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया विकको सहयोगमा हामी उहाँसम्म पुग्यौँ, कौशिलाले रातभरि पनि म्यासेज गर्नुहुन्थ्यो, हामीले दिनरात नभनी उहाँको उद्धारमा समन्वय गर्‍यौँ ।’

 वैदेशिक रोजगारीका विषयमा राम्रोसँग जानकारी नलिई जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको सिकार हुने गरेको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताउनुभयो ।     

     

 पासपोर्ट बनाउने बेला नै कौशिलाले कोरिया जाने भन्नुभएको थियो । आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाण्डौसम्म बसमा पासपोर्ट पठाउनुभएको थियो । मेडिकल जाँच गरेको दस दिनमै भिसा आएपछि विमानस्थल प्रवेश गरेपछि मात्रै आफू कुवेत जान लागेको थाहा पाएको कौशिला बताउनुहुन्छ ।

‘मलाई आफन्तले नै फसाए’ कौशिलाले भन्नुभयो ‘घरेलु कामदारका रूपमा कोही दिदीबहिनी पनि खाडी नजानु, त्यहाँ दिदीबहिनीको हालत खराब छ ।’

कुवेत पुगेको २८ दिनका दिन नेपाल फर्किनुभएकी कौशिलाको अब भने कोरियाको तयारीमा जुट्ने योजना छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया