लमजुङको सुन्दरबजार नगरपालिकाका २३ जना भूमिहीनले पाए लालपूर्जा

 कात्तिक २५, २०८० शनिबार १५:१७:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकामा रहेका २३ जना भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिएको छ ।

नगरपालिकाले लालपूर्जा उपलब्ध गराउन सिफारिस गरेका ४७ जना भूमिहीन सुकुम्बासीहरुमध्ये २३ जनाले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य व्यक्तिलाई लालपूर्जा उपलब्ध गराउन भने आवश्यक प्रकृया पूरा हुन बाँकी छ ।

जिल्लामा विगत ४५ वर्षदेखि बसोबास गरिरहेका व्यक्तिको नागरिकतासम्म नभएको, आफू बसिरहेको ठाउँ छोडेर अन्यत्र जान नचाहने जस्ता भूमिहीन व्यक्तिहरु रहेको भन्दै जग्गा उपलब्ध गराउन समेत समस्या भएको साथै अर्कोतर्फ सुगम स्थानमा जग्गा पाउन नै समस्या भएको उहाँले उल्लेख गर्नुभयो । सुन्दरबजार नगरपालिकासँगै अब राईनास नगरपालिकामा लालपूर्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

सुन्दरबजार नगरपालिकाका भूमिहीन सकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्बासीहरु बसिरहेको ठाउँभन्दा बाहिर जग्गाको व्यवस्था गरी स्थानान्तरण गर्नेमा सुन्दरबजार नगरपालिका देशमा नै पहिलो पालिका रहेको बताउनुभयो । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले भूमिहीनले जग्गा पाए पनि घर बनाउन अझै चुनौती रहेको बताउनुभयो ।

‘यसमा पालिकाले के गर्न सक्छ भन्ने बारेमा सोचिरहेको छ । सुन्दरबजारमा रहेका भूमिहीनहरुलाई पहिलो चरणमा पूर्जा कसरी दिन सकिन्छ भनेर आफूहरु लागिरहेको र यसलाई मूर्त रुप दिन सकिएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ,’ उहाँले भन्नुभयो ।

लालपूर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य उर्मिला माझी पौडेल, सुन्दरबजार नगरपालिकाका उपमेयर भवानी केसी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, विभिन्न पार्टीका प्रमुख, प्रतिनिधिहरु, जनप्रतिनिधि लगायतले बोल्दै भूमिहीनलाई जग्गा उपलब्ध गराउन सकिएकोमा खुसी व्यक्त गरेका थिए ।

जग्गा प्राप्त गरेसँगै स्थानीय भूमिहीनहरुले आफूले जग्गाधनी प्रमाण पूर्जाको अभावमा विभिन्न बाधा झेल्नुपरेको बताउँदै आफूहरुको जग्गा पाउने आशा आज यथार्थमा परिणत भएको भन्दै खुसी जनाएका थिए ।

राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अनुसार जिल्लाभरमा २ सय ५३ भूमिहीन र एक हजार दुई सय ४५ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया