लमजुङको पाउँदीमा एकादशी मेलाको रौनक

 मंसिर ७, २०८० बिहिबार २०:३१:१३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङकाे सुन्दरबजार नगरपालिका–७ पाउँदीमा हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ । पाउँदी, मर्स्याङ्दी नदी किनारमा रहेको कर्मदा नदीका शिवजी मन्दिर परिसरमा पूजाआजा गर्न, मेला भर्न बर्सेनि उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गर्दछन् । पञ्चेबाजासहित फूलको डोरी तार्न र बगाउन पनि भक्तजन यहाँसम्म आइपुग्छन् ।

एकादशीका दिन मर्स्याङ्दी नदीमा स्नान गरे, फूलको डोरी तारे, बगाए मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको कर्मदा नदीका शिवजी मन्दिर व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य डा. टकराज गुरुङले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष दुई वटा फूलको डारी तारिएको छ भने नाै वटा फूलको डोली बगाइएको छ । विगतमा झैँ यस वर्ष पनि पाउँदीको एकादशी मेला भर्न लमजुङ, तनहुँ र गोरखाका साथै देशभरबाट हजारौँ सङ्ख्यामा भक्तजन आएका उहाँले बताउनुभयो ।

एकादशी मेलालाई मध्यनजर गर्दै सुन्दरबजार नगरपालिकामा एकादशीका दिन सार्वजनिक बिदा दिइएको र यस्तो धार्मिक मेला महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सुन्दरबजारका मेयर कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

एकादशी मेलामा बर्सेनि भक्तजनको सङ्ख्या बढ पनि विगतमा जस्तो मौलिक बाजागाजासहित फूलको डोली तार्नेकाे सङ्ख्या भने पछिल्लो समय निकै कम हुँदै गएकाे छ । यस वर्ष यहाँ एउटामात्रै फूलको डोरी तारिएको छ ।

विगतमा टाढा टाढाबाट बाजागाजासहित फूलको डोली ल्याई तार्ने गरिएकोमा पछिल्ला वर्षहरूमा भने उल्लेख्य सङ्ख्यामा फूलको डोली नआएको मन्दिर व्यवस्थापन समितिका सदस्य धुव्रराज पोखरेलले बताउनुभयो ।

विगतमा यहाँ बाजागाजासहित विभिन्न ठाउँबाट मानिसहरू फूलको डोली लिएर आउँथे । मर्स्याङ्दीकाे चिसो पानीमा पौडिएर एक किनारबाट अर्को किनारमा फूलको डोली तार्ने परम्परा थियो । त्यो दृश्य हेरेर भक्तजन रमाउँथे । दङ्गै पर्थे । तर पछिल्लो समय बाजागाजासहित फूलको डोली ल्याउने, तार्ने परम्परामा निकै कमी आएको छ ।

बर्सेनी एकादशीका बेला लाग्ने मेलाले धार्मिक, सांस्कृतिकरूपमा मात्र नभई ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुर्‍याउँदै आएको छ । पाउँदीमा लाग्ने एकादशी मेलामा स्थानीय कृषिजन्य उत्पादन सुन्तला, बदाम, भटमास, उखुका साथै कुटो–कोदालो, डोका–नाम्ला लगायतका विभिन्न घरेलु हस्तकलाका सामग्री बिक्रीका लागि विभिन्न जिल्लाबाट मानिसहरू यहाँ आइपुग्छन् ।

लमजुङको पाउँदीसँगै खुदी तथा लमजुङ र तनहुँको सिमाना सिसाघाट क्षेत्रमा पनि बर्सेनि एकादशीका बेला ठूलो मेला लाग्ने गर्दछ । मेला भर्नका लागि उल्लेख्य सङ्ख्यामा भक्तजन त्यहाँ पुग्छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया