खैनी सुर्ती बेच्न नपाउने महानगरको निर्णय : ‘पसले लुकाउँदै, नगर प्रहरी खोतल्दै’

 मंसिर २९, २०८० शुक्रबार ९:३३:१३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको अनामनगरमा किराना पसल चलाउने पार्वती बडाल आफ्नै सुरमा पसलमा सामान बेचिरहनु भएको थियो । अचानक उहाँको पसल अगाडि काठमाण्डौ महानगरको नगर प्रहरीको भ्यान आएर रोकियो । भ्यानबाट नगर प्रहरी निरीक्षक श्यामबहादुर कँडेल र उहाँको टोलीका साथीहरु ओर्लिए । बडाललाई नमस्कार गर्दै कँडेलले सुर्तीजन्य पदार्थ त राख्नुभएको छैन नि भनेर सोध्नुभयो । जवाफमा कँडेलले पनि सुर्तीजन्य पदार्थ र गुट्खाहरु नभएको बताउनुभयो । 

कँडेलको टोलीमा रहेका साथीहरुले पसलको फोहर फाल्ने गरेको भाँडोमा हेरे । त्यहाँ पराग र सुर्तीजन्य पदार्थका प्लास्टिकका खोलहरु थिए । त्यसपछि शंका लागेर कँडेलले पसलभित्र टाउको छिराएर हेर्ने प्रयास गर्नुभयो र केही भए दिनुहोला भनेर अनुरोध गर्नुभयो । त्यसपछि बडालले पसलमा भएका सुर्तीका प्याकेटहरु र पान परागका प्याकेटहरु दिनुभयो । ती प्याकेटहरु लिइसकेपछि कँडेलले नमस्कार गर्दै भन्नुभयो, ‘अबदेखि सुर्तीजन्य पदार्थहरु नबेच्नुहोला । हामीले दुईपटकसम्म जफत गर्छौँ । त्यसपछि भने पसल नै शील हुन्छ ।’

बडालले अबदेखि नबेच्ने बताउनुभयो । तर, सूचनासम्म दिनपर्थ्याे भन्ने उहाँको तर्क थियो । उहाँ भन्नुहुन्छ, ‘नबेच्ने कुरा त ठिकै होला । तर, सूचना जानकारी भने दिनुपर्थ्याे ।’

बडालको यो कुरा कँडेलले इन्कार गर्नुभयो । ‘हामीले यस क्षेत्रमा माइकिङ गरेर जानकारी गराइसकेका छौँ । धेरै पसलमा अहिले सुर्तीजन्य पदार्थ भेटिँदैन । तर, केही, केहीले भने लुकाएर बेच्ने गरेको पाइएको छ । हामी पनि त्यसरी लुकाएर बेचेको छ कि भनेर नै अनुगमनमा निस्किएका हौँ,’ कँडेल भन्नुहुन्छ ।

काठमाण्डौ महानगरले गएको मङ्सिर १२ गते महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, वितरण, भण्डारण तथा प्रयोगमा पूर्णरुपमा रोक लगाउने सूचना प्रकाशन गरेको थियो । 

सूचनामा महानगर पालिकाको स्थास्थ्य विभागले १५ दिनको अवधि दिएर अस्ति २७ गतेदेखि सुर्तीजन्य पदार्थ जस्तै, चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपरागलगायतका पदार्थ प्रयोग तथा बिक्री नगर्न र बिक्री गरेको पाइएमा जफत गर्नेसमेत प्रकाशित सूचनामा जनाएको थियो । त्यसैअनुरुप हिजो बिहीवारदेखि महानगरले नगर प्रहरीलाई बजार अनुगमनमा खटाएको थियो ।

काठमाण्डौ महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार महानगरले सुर्तीजन्य पदार्थको बिक्री, वितरण तथा प्रयोगको अनुगमनका लागि पूर्व, पश्चिम, उत्तर र मध्यक्षेत्र गरेर चार वटा क्षेत्र विभाजन गरेर १०/१० जनाका दरले ४० जना जनशक्ति परिचालन गरेको थियो ।

हिजो अनामनगर क्षेत्रका करिब २५/३० वटा पसल अनुगमन गर्दा झण्डै आधाजसो पसलमा सुर्तीजन्य पदार्थ भेटिएको र त्यसलाई जफत गरिएको नगर प्रहरी निरीक्षक कँडेलले बताउनुभयो । महानगरले सूचना जारी गरेपछि पनि माइकिङ गरेर सचेत बनाएको उहाँको भनाइ छ । तर, सामान जफत गरिएका धेरै पसलेहरुले आफूहरुलाई यस सम्बन्धमा जानकारी नभएको बताए । नगर प्रहरी निरीक्षक कँडेल भने पसलेहरुलाई जानकारी नभएको नभइ हेलचेक्क्र्याइँ गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘महानगरले १५ दिन अगावै सूचना जारी गरेको छ । सूचना जारी गरेपछि पनि हामीले माइकिङ गरेका छौँ । अहिले पनि धेरै पसलेहरुले लुकाएर बेच्न पाइहालिन्छ कि भनेर भित्रभित्र लुकाएर राखिरहनु भएको छ । यसकारण पनि उहाँहरुलाई जानकारी थिएन भन्न मिल्दैन ।’

हिजो उहाँको टोलीले गरेको अनुगमनमा पानपराग, गुट्खा, सुर्ती र खुला बिक्री गरिएका चुरोटका बट्टाहरु बरामद गरेको छ । महानगरले चुरोट पनि खुलारुपमा एक/एक खिल्ली बिक्री गर्न रोक लगाएको छ । तर, चुरोट भने सिङ्गै प्याकेट बेच्न पाइन्छ । अनामनगर क्षेत्रमा गरेको अनुगमनमा झण्डै १०/१२ झोलाभन्दा धेरै पानपराग, गुट्खा, सुर्ती र खुला बिक्री गरिएका चुरोटका बट्टाहरु बरामद गरिएको पनि उहाँले बताउनुभयो।

अनुगमनकै क्रममा महानगरको टोली अनामनगरको राजकुमार कार्कीको पसलमा पुग्यो । पसलमा बसिरहेका कार्कीले महानगरले जारी गरेको सूचनाको समयसीमा अस्ति बुधवार सकिए पनि करिब दुई दिन अगाडिदेखि नै पानपराग, गुट्खा, खैनी, सुर्ती बिक्री गर्न बन्द गरेको बताउनुभयो । उहाँ आफू व्यापारी भएर यसअघि यस्ता सुर्तीजन्य पदार्थ बेचे पनि महानगरको यो कदमले एकदमै खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘महानगरको यो कदम एकदमै राम्रो हो । यो मान्छेको स्वाथ्यको लागि हानिकारक हो नि त । खुसी लागेको छ । यो नबेच्दा नै ठीक छ ।’

सँगैका अरु पसलले जानकारी नपाएको बताए पनि उहाँ आफूले भने यस्तो सूचना पाँच/सात दिन अगाडि पाएको उहाँ बताउनुहुन्छ । यस्तो सूचना पाएपछि सुर्तीजन्य पदार्थ कम, कम गर्दै लगेको र एक/दुई दिनअघि भएको सबै स्टक सकाएर बेच्न छोडेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पाँच/सात दिन पहिला हामीले सूचना पायौँ । त्यसबेलासम्म त बेचेकै हो । पछि चाहिँ हामीले यो बेच्न नहुने रैछ भनेर थाहा पाएर बेचेनौँ ।’

बरामद गरिएका यस्ता सुर्तीजन्य पदार्थ महानगरले के गर्छ वा कतै दुरुपयोग त गर्दैन भन्ने जिज्ञासा पनि देखियो आमनागरिकमा । तर, यस्ता सुर्तीजन्य पदार्थको दुरुपयोग वा महानगरका कर्मचारीले प्रयोग गर्ने भन्ने नहुने नगर प्रहरी निरीक्षक श्यामबहादुर कँडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले जफत गरेका सामान हामी मुचुल्का उठाएर सम्बन्धित ठाउँमा बुझाउँछौँ । र, अन्यत्र सबैतिरबाट जफत भइसकेको यस्तो सामग्री आएपछि नष्ट गर्ने काम हुन्छ ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया