मेलम्चीको पानी नआउनुमा प्राविधिकभन्दा व्यवस्थापकीय कमजोरी धेरै

 पुस ४, २०८० बुधबार ९:२७:४४ | वैद्यनाथ पाैडेल
unn.prixa.net

‘आशा गरौँ एक महिनाभित्र मेलम्चीको पानी काठमाण्डौ पुग्छ’ भनेर खानेपानी मन्त्री महिन्द्रराय यादवले भन्नुभएको आज १९ दिन भयो । उहाँले गएको मङ्सिर १५ गते मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनका क्रममा भनेका यी भनाइ र लट्ठी टेकेर खोलाको ढुङ्गामा हिँड्दै गरेको तस्बिर निकै भाइरल पनि भयो । तर, परिणाम भने काठमाण्डौवासीका घरका खानेपानीका धारा खोलेर हेरे प्रष्ट देखिन्छ ।        

मन्त्री यादवले भने जस्तो तीव्र गतिमा काम गरेका खण्डमा काम शुरु गरेको एक महिनाभित्र मेलम्चीको पानी काठमाण्डौ आउन सक्छ । यसअर्थमा अहिले काम लगाउन सकियो भने पुषको अन्तिम वा माघको पहिलो हप्तामा मेलम्चीको पानी आउने सम्भावना छ । तर, त्यहाँ त काम नै शुरु नभएको अवस्थामा काठमाण्डौमा पानी कहिले आउँछ भनेर ठ्याक्कै भन्न नसकिने बताउनुहुन्छ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त ।

‘काममा परिचालन भएको भए एक महिनाभित्र हुनसक्थ्यो । तर, यहाँ त परिचालन गर्नका लागि ठेकेदारलाई भुक्तानी गर्नै समस्या भयो,’ उहाँ भन्नुहुन्छ, ‘निर्माण व्यवसायीले काम गर्न पैसा छैन, पैसा देउ भन्छ । हाम्रो खरिद ऐन, नियम, कानुन, भुक्तानीको प्रक्रिया अलि झण्झटिलो छ । मन्त्रीज्यूले त्यसको सिरियसनेस बुझ्नु भएन । त्यसकारण कर्मचारीले चाहे भने हुन्छ भनेर भन्नुभएको होला ।’

निर्माण व्यवसायीलाई जति छिटो परिचालन गर्यो उति छिटो काठमाण्डौमा पानी आउने सम्भावना रहेको पन्तको भनाइ छ । तर, मेलम्ची परियोजनामा काम गरिरहेको सिनो हाइड्रोले अहिले काम गर्न आनाकानी गरिरहेको अवस्था छ ।

निर्माण सम्पन्न भएपछि २०७७ देखि काठमाण्डौमा अस्थायीरुपमा दुई महिना पानी वितरण गरिएको थियो । तर, २०७८ असार १ गतेको बाढीले आयोजनामा क्षति पुग्यो र बन्द भयो । त्यसपछि मन्त्रिपरिषद्को निर्णय बमोजिम त्यहाँ काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई लागत थप गरी काम गराइयो । र नौ महिनापछि अस्थायी संरचनाबाट दुई महिना पानी पठाउने काम भयो । त्यसपछि फेरि २०७९ जेठदेखि मङ्सिरसम्म वर्षाका कारण आयोजना बन्द गरियो । मङ्सिरपछि सात महिना काठमाण्डौमा पानी आयो । त्यसपछि २०८० असारदेखि फेरि आयोजना बन्द गरियो । तर, यही बीचमा २०८० साउनमा फेरि पहिलेकै जस्तो बाढी आएर आयोजनामा क्षति पुग्यो ।

तर, अब पछिल्लो समय आयोजनाको ठेकेदार सिनो हाइड्रोलाई नै काम गर्न अनुरोध गर्दा आफूले यसभन्दा अघि नै काम सम्पन्न गरिसकेको र अहिले उपकरण अन्यत्र लगाइसकेकोले एक महिनाका लागि ल्याएर काम गर्न नसक्ने जानकारी दिएको पन्त बताउनुहुन्छ । साथै काम शुरु गर्न आफूसँग पैसा नभएको भनेर सिनो हाइड्रोले काम नगरेको पन्तले बताउनुभयो । अब त्यसका लागि सम्झौता तोडेर अर्को ठेकेदार नियुक्ति गरेर सबै प्रक्रिया पूरा गर्दा बर्खा लागिसक्ने भएका कारण पनि यही कम्पनीलाई काम गर्ने वातावरण मिलाउन विकास समिति लागि परेको उहाँको भनाइ छ । ‘जे जस्ता बाधाहरु भए पनि हामी सकेसम्म छिटै नै काठमाण्डौवासीलाई पानी ख्वाउँछौँ । त्यसका लागि लागिपरेका छौँ,’ पन्त भन्नुहुन्छ ।

मेलम्ची खानेपानी आयोजनास्थल रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्राविधिकरुपमा त्यति ठूलो समस्या नरहेकोले काम शुरु गरेको १५/२० दिनमा काम सकिएर पानी काठमाण्डौ पठाउन सकिने बताउनुहुन्छ । ‘अहिलेसम्म ठेकेदार साइटमा नै आएको छैन । अब ठेकेदार नै नआइ कहिले सकिन्छ र कहिले पानी आउँछ कसरी भन्न सकिन्छ र ?’ उहाँ भन्नुहुन्छ, ‘बाटोको समस्या अनि स्थानीय समस्या केही होइन यसमा । यसको समस्या भनेको विकास समिति र ठेकेदारको हो ।’

दैनिक १७ करोड लिटर पानी काठमाण्डौ ल्याउने झण्डै ६० अर्ब रुपैयाँको यस आयोजना निर्माण हुन नै झण्डै दुई दशक लाग्यो । दुई दशकमा बल्ल निर्माण भएर पानी खाने काठमाण्डौवासीको चाहनामा २०७८ असार र २०८० साउनको दुई वटा बाढी बाधक बन्यो । अहिले ठेकेदार र विकास समितिको अर्घेल्याइँका कारण एक महिनामा काम सकिएर पानी काठमाण्डौ आइपुग्ने अवस्था हुँदाहुँदै फेरि व्यवधान उत्पन्न भएको छ ।

यसैबीच खानेपानी नपाएपछि मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाण्डौ ल्याएर वितरण गर्न माग गर्दै काठमाण्डौ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले गएको सोमवार प्रदर्शन गर्‍याे । कोटेश्वरदेखि मिनभवनसम्म भएको प्रदर्शनमा सहभागीहरुले रित्ता गाग्री, बाल्टी, जार लिएर ‘मेलम्चीको पानी छिटो खोल, मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर’ जस्ता नारा लगाएका थिए।

समितिले खानेपानी मन्त्री तथा विकास समितिलाई ज्ञापनपत्रसमेत दिएको छ । आउँदो शुक्रवारसम्म आफ्ना मागका बारेमा सुनुवाइ नभए अनन्दोलनका थप कार्यक्रमहरु अगाडि ल्याउने समितिका अध्यक्ष गोविन्दराज पन्तले बताउनुभयो । अध्यक्ष पन्तका अनुसार अहिलेलाई प्रदर्शन केवल मेलम्चीका पानी काठमाण्डौ ल्याउनका लागि मात्रै हो । पछि भने समितिले काठमाण्डौ भित्र भएका अनियमितता सबै केलाउँदै जान्छ ।

मेलम्चीको स्थलगत भ्रमणसमेत गरेको समितिले पानी वितरणमा कुनै प्राविधिक समस्या नभइ केवल व्यवस्थापकीय समस्या मात्र रहेको पनि जनाएको छ । समितिका अध्यक्ष पन्त भन्नुहुन्छ, ‘पानी नआउनुको मुख्य कारण भनेको व्यवस्थापकीय कमजोरी मात्रै हो । प्राविधिक कमजोरी छैन ।’

पहिले स्थानीयवासीको अवरोधको कुरा पनि आएको थियो तर, स्थलगत भ्रमणका क्रममा त्यस्तो केही पनि नपाइएको पनि अध्यक्ष पन्त बताउनुहुन्छ । स्थानीय हेलम्बु गाउँपालिकाका अध्यक्षसमेत पानी काठमाण्डौ लैजाने कुरामा सकारात्मक रहेको पनि उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘त्यहाँ केवल टिनको पाता लगाएर पानी रोकिएको छ । केही फोहोर नै छ भने पनि त्यो पाता खोल्यो भने पानी तुरुन्तै काठमाण्डौ आइहाल्छ ।’

सरकारले मेलम्चीको पानी ल्याउनमा तदारुकता नदेखाएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष पन्त बताउनुहुन्छ । विकास समिति र खानेपानी मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइसेका कारण अब पनि केही नभए अर्को चरणको आन्दोलन गर्ने समितिको भनाइ छ ।

संघर्ष समितिका अध्यक्ष पन्त भन्नुहुन्छ, ‘शुक्रवारसम्म हामीलाई समय दिनुस् हाम्रो होमवर्क गर्नुछ भनेका कारण हामीले उहाँहरुलाई शुक्रवारसम्मको समय दिएका हौँ । शुक्रवारसम्म उहाँहरुले के प्रगति भएको रिर्पोट बुझाउनुहुन्छ त्यसपछि हामी थप कार्यक्रम घोषणा गर्छौँ ।’

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया