पहिले च्याउ चिनाउनै मुस्किल थियो, अहिले खेती र व्यापार भ्याइनभ्याइ

 पुस १६, २०८० सोमबार ८:२५:१० | वैद्यनाथ पाैडेल
unn.prixa.net

शुरुमा उहाँ आफ्नो घर भक्तपुर थिमिबाट पुरानो यामाहा मोटरसाइकलमा राखेर च्याउ बेच्न भक्तपुरको पाँच तले मन्दिरको बजारमा जानुभयो । त्यहाँ सागपातलगायत अरु तरकारी बेच्ने व्यापारी पनि थिए । किन्न आउने धेरैले यो के हो, कसरी खाने भनेर सोधे । उहाँलाई बताउँदैको हैरान । तर, च्याउको एउटा डल्लो पनि बिक्री भएन । 

यहाँ बिक्री नभए अन्त बिक्री होला भनेर उहाँ फेरि भक्तपुरकै कमल विनायक जानुभयो । त्यहाँ पनि अवस्था उस्तै रह्यो । एउटा पनि च्याउ बिक्री भएन । फेरि उहाँ च्यामसिंह जानुभयो । त्यहाँ पनि च्याउ बिकेन । केही सीप नलागेपछि उहाँले पुरानो थिमि आउने बाटोमा पर्ने एउटा तरकारी पसलमा त्यसै छोडेर आउनुभयो । यो कथा हो च्याउ व्यवसायी आकाश वादेको ।

मध्यपुर थिमि नगरपालिका –७ नगदेशका वादेको पुर्ख्याैली पेसा कृषि नै हो । नगदेश यसै पनि तरकारी खेतीका लागि चिनिन्छ । कृषिमै आधारित रहे पनि उहाँ भने यो पेसालाई अलि फरक र व्यावसायिक ढङ्गले गर्न चाहनुहुन्थ्यो । त्यसैले उहाँले यसको प्रयोग गाजर खेतीबाट शुरु गर्नुभयो । उहाँले पहिले गाजरको अर्गानिक खेती गर्नुभयो । च्याउ पनि अर्गानिक ढङ्गले गर्न सकिने देखेपछि उहाँले च्याउ खेती शुरु गर्नुभयो । यो २०५४ सालतिरको कुरा हो । तर, त्यसबेला भने यो व्यावसायिक खेतीकारुपमा नभइ गरी हेरौँ के हुँदोरहेछ भन्ने ढङ्गबाट परीक्षणकोरुपमा थियो । 

२०६५ सालदेखि भने उहाँले कन्ये च्याउबाट च्याउको व्यावसयिक खेती शुरु गर्नुभयो । मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरमा उहाँको च्याउ फार्म छ । भाडामा लिएको करिब ११ रोपनी जग्गामा उहाँले अहिले च्याउ खेती गरिरहनु भएको छ । जहाँ कन्ये च्याउ, रातो च्याउ, सिताके, लायन्स मेन, टर्की टेललगायतका च्याउ उत्पादन हुन्छ । टर्की टेल भने उहाँले नेपालमा पहिलो पटक उत्पादन गरिरहनु भएको छ । 

यो टर्की टेल च्याउ भने उहाँले ललितपुरको फुल्चोकीको जङ्गलबाट सङ्कलन गरेर ल्याउनु भएको हो । टर्की टेल च्याउको उहाँले आफ्नै ल्याबमा टिस्यु कल्चर गरेर बीउ उत्पादन गरेर खेती गरिरहनु भएको छ । त्यस्तै, उहाँले म्यजिक मसरुम पनि उत्पादन गर्नुहुन्छ । इसारे सिकाडा, इसारे जापोनिका, कोर्सेस मिटराज जस्ता नयाँ खालका च्याउहरु पनि उहाँले खेती गरिरहनु भएको छ । उहाँको फार्ममा अहिले छ प्रकारका च्याउको खेती हुँदै आएको छ । 

च्याउ खेतीका लागि शारीरिकभन्दा पनि मानसिक परिश्रम लाग्ने उहाँ बताउनुहुन्छ । च्याउको कल्चर, टिस्यु कल्चर आदि गर्दा प्राविधिक ज्ञान धेरै चाहिन्छ । तर, अरु तरकारी खेतीमा भने शारीरिक परिश्रम धेरै लाग्छ । ‘च्याउ खेतीका लागि शारीरिक परिश्रम कम लाग्छ । मानसिक परिश्रम बढी लाग्छ । प्राविधिक ज्ञान पनि चाहिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘च्याउ खेती टनेलमा गरिने हुनाले घामपानी सहनु पर्दैन ।’

उहाँको अनुभवमा च्याउ खेती गर्न खासै गाह्रो छैन । किनकि कन्ये च्याउका लागि चाहिने पराल सजिलै पाइन्छ । सिताके च्याउको लागि काठको मुढा अनि रातो च्याउको लागि चाहिने काठको धुलो पनि सःमिलबाट सजिलै पाइने हुँदा काम गर्छु भन्नेका लागि च्याउ खेती अप्ठेरो नभएको उहाँको आफ्नै भोगाइ छ ।

अर्को भनेको च्याउ खेतीका लागि लगानी पनि धेरै गर्नु पर्दैन । च्याउ उत्पादन गरेर बेच्न पनि समय लाग्दैन । एक महिनामा उत्पादन भएर बिक्री गर्न सकिन्छ । दुई महिनामा त गरेको लगानी नै फिर्ता भइसक्छ । यसकारण पनि किसानहरुको यसमा आकर्षण देखिन्छ । वादेका अनुसार कन्ये च्याउ उत्पादनका लागि केवल दुई सय रुपैयाँँ लाग्छ । टनेल बनाउन ५० हजार लाग्छ । यसकारण सामान्य हिसाबमा एक लाख रुपैयाँ खर्च गरेर पनि यसको व्यवसाय गर्न सकिन्छ । 

कन्ये च्याउ उत्पादन गर्न सामान्यतया दुईदेखि तीन महिना लाग्ने गर्छ । सिताके च्याउ भने तीन महिनादेखि नौ महिना लाग्छ । त्यस्तै, रातो च्याउ भने दुईदेखि तीन महिना लाग्ने पनि वादेले बताउनुभयो । उत्पादनका हिसाबले काठको धुलोमा उत्पादन गर्ने हो भने सिताके च्याउ सबैभन्दा सस्तो पर्छ । काठको मुढामा गर्ने हो भने लागत बढ्न जान्छ । तर, गाउँघरतिर आफ्नै काठका मुढाहरु छन् भने लागत झनै कम पर्न जान्छ । सिताके च्याउको लागि उत्तिस, कटुस तथा सौरको मुढा राम्रो मानिन्छ ।

लगानी र उत्पादनपछि यसको बजारमा पनि समस्या छैन । पहिले आफूले च्याउ खेती गर्दा बजारको समस्या भए पनि अहिले भने बजारको समस्या नरहेको वादे भन्नुहुन्छ । व्यापारीहरु च्याउ किन्न उहाँको फार्ममै आउँछन् । यदि व्यापारीहरु फार्ममा च्याउ किन्न नआए आफैँले मुख्य तरकारी बजारहरु जडीबुटी, कालिमाटी, बल्खु, बानेश्वर, कोटेश्वरमा बिक्रीका लागि लैजाने गरेको पनि उहाँले बताउनुभयो । कन्ये च्याउको उत्पादन धेरै भएको बेला भने त्यसलाई सुकाएर पोखरा, चितवनलगायतका बजारमा पनि पठाउने गर्नुभएको छ उहाँले ।

उहाँ वार्षिक ५० हजार किलो कन्ये च्याउ उत्पादन गर्नुहुन्छ । उत्पादन पनि धेरै हुने कारणले कन्ये च्याउ सस्तो हुन्छ भने बिक्री पनि धेरै हुन्छ । सिताके कन्ये च्याउभन्दा अलि महँगो हुने कारणले कम बिक्री हुन्छ । रातो च्याउ भने धेरै नै महँगो भएका कारण कमै बिक्री हुन्छ । रातो च्याउ सुकाएर धुलो बनाएर खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट सूचीकृत गरेर नम्बरसहित बिक्री वितरण गर्ने गरिएको छ ।

मूल्य भने धेरै उत्पादन हुँदा तलमाथि हुनु स्वाभाविक नै लाग्छ उहाँलाई । औसतमा एक सय २०/३० रुपैयाँँ पर्ने च्याउलाई महँगो मान्न नहुने पनि उहाँको तर्क छ । तर, गएको महिना भने कन्ये च्याउ ५० रुपैयाँँ किलोमा बेच्नुपर्दा किसानलाई मर्का पर्यो । त्यो अपवाद रहेको र यस्तो अवस्था कोरोना कालमा भएको उहाँको अनुभव छ । 

उहाँले सिताके च्याउ किलोको छ/सात सय रुपैयाँँ, रातो सुकाएको च्याउे किलोको १० हजार रुपैयाँँमा बेचिरहनु भएको छ । त्यस्तै, कन्ये च्याउको अचार भने एउटा बट्टाको तीन सय रुपैयाँमा बेचिरहनु भएको छ ।  उत्पादन, बजार सबै राम्रो भएको च्याउको उहाँको वार्षिक कारोबार ५० लाख रुपैयाँँभन्दा धेरै छ । नाफाको कुरा गर्दा बढीमा मासिक पाँच लाख रुपैयाँँ हुने पनि वादेले बताउनुभयो ।

च्याउको अध्ययन, अनुसन्धान, विकास तथा बीउ उत्पादनका लागि भने मध्यपुर थिमिकै ३ नम्बर वडामा उहाँको मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर रहेको छ । ल्याबमा १८ जना प्राविधिक कार्यरत छन् । त्यस्तै,, फार्ममा भने छ जना काम गरिरहेका छन् । यसरी उहाँले २४ जनालाई प्रत्यक्ष रोजगारी  दिइरहनु भएको छ ।

उत्पादन, बजार सबै राम्रो भए पनि भारतीय किसानलाई त्यहाँको सरकारले अनुदान दिने कारण यहाँका किसानले प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको उहाँको अनुभव छ । यदि यहाँका किसानलाई प्रतिस्पर्धी बनाउने हो र च्याउमा आत्मनिर्भर हुने हो भने सरकारले कि भारतीय च्याउ रोक्न सक्नुपर्ने वा यहाँका किसानलाई पनि अनुदान दिनुपर्ने उहाँको विचार छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया