कञ्चनपुरमा आजदेखि जलपक्षी गणना शुरु

 पुस २१, २०८० शनिबार १२:५८:६ | रासस
unn.prixa.net

कञ्चनपुर  - कञ्चनपुरमा आजदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पक्षी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएशनलगायत सङ्घसंस्थाले जलपक्षी गणना थालेका हुन् ।

जलपक्षी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपक्षी गणना हुनेछ ।

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपक्षी गणना हुने चराविज्ञ डगौराले बताउनुभयो । जलपक्षी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जीपीएस’सहितको क्यामेराको प्रयोग गरिने छ । 'हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छ', उहाँले भन्नुभयो, 'स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर जलपक्षी गणना गर्छौँ ।'

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपक्षी गणनको कार्य हुने डगौराले जानकारी दिनुभयो ।

कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जलपक्षीसमेत यहाँ रहेका छन् । उहाँका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त ठाउँ भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

चैतदेखि जेठसम्म पुनः पक्षी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपक्षी गणना हुँदै आएको छ ।  

अन्तिम अपडेट: जेठ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया