कर्णालीमा खसीबोका बिक्रीबाट तीन अर्ब २४ करोड रुपैयाँ बराबरको आम्दानी

 माघ ११, २०८० बिहिबार १३:१०:२८ | रासस
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत - कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको पुँजी भित्र्याएको छ ।  कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्ताे जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा कृषिमन्त्री भीमप्रकाश शर्माले आफूले गएकाे २०७९ माघ ११ गते कार्यभार सम्हालेयताको एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै कर्णाली   प्रदेशका विभिन्न जिल्लाबाट २४ करोड बराबरको तरकारी, किवी, अदुवा, दूध निर्यात भएको बताउनुभयो ।

त्यसैगरी, चालु आवको मङ्सिर ७ गतेदेखि प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबई अस्थायी तथ्याङ्क सङ्कलन केन्द्रबाट दुई महिनामा २२ करोड २२ लाख ८८ हजार बराबरको कृषि तथा पशुपक्षीजन्य उत्पादन निर्यात भएको उहाँले  जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार यहाँको रैथानीबाली मार्सी धान, सिमी, फापर, चिनो, कागुनोको निर्यातबाट पाँच करोड ४२ लाख, ८९ हजार आम्दानी भएको छ  ।

त्यस्तै, कृषि तथा पशुपक्षी विकासको लागि डोल्पामा चौरी, दैलेखमा बाख्रा र सल्यानमा सुन्तला जात बालीको विकास फार्म, सुर्खेतमा प्रदेश रिफरल भेटेनरी अस्पताल, बागवानी विकास फार्म, दार्मालाई प्राङ्गारिक कृषि प्रविधि विकास तथा प्रवर्द्धन केन्द्र र सल्यानको कपुरकोट तथा सुर्खेतको हर्रेमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गर्न जनशक्ति व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले जुम्लामा कृषि अनुसन्धान केन्द्रअन्तर्गत गुठीचौर भेडा अनुसन्धान केन्द्र रहेको बताउँदै कर्णाली प्रदेशमा कफी उत्पादनको प्रचुर सम्भावना भएकाले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको शाखा कार्यालय स्थापनाको तयारी भइरहेको बताउनुभयो । उहाँले ब्याजमा अनुदान कार्यक्रममार्फत चार करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख रुपैयाँ पुँजी कृषि क्षेत्रमा मात्र परिचालन भएको जनाउनुभयो ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीमा रासायनिक मल विस्थापन गर्न जैविक तथा प्राङ्गारिक मल खरिद गर्ने किसानको लागत मूल्यमा ४० प्रतिशत अनुदान  मन्त्रालयले दिने कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।

वीरेन्द्रनगरमा मात्र नौ टन जैविक मल बिक्री वितरण भएको बताउँदै उहाँले प्रदेशका १२ समूहलाई मूल्यवान लोगो प्रदान गरिएको जनाउनुभयो । प्रवक्ता कठायतका अनुसार खाद्य व्यवस्थापबाट अनुज्ञापत्र लिएकालाई मात्र मूल्यवान लोगो प्रदान गरिएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया