काठमाण्डौ उपत्यकामा गाडी दुर्घटना : ६ महिनामा ८८ जनाको ज्यान गयो

ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पैदलयात्रु धेरै

 माघ ११, २०८० बिहिबार १५:२८:४१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लो छ महिनामा गाडी दुर्घटनामा ८८ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म पाँच हजार आठ सय ६५ वटा दुर्घटनामा ८८ जनाले ज्यान गुमाएका हुन् । यस्तै एक सय ४८ जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डौ उपत्यकामा गाडी दुर्घटनामा परि ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पैदलयात्रु धेरै छन् । मोटरसाइकल तथा स्कुटर जथाभाबी कुदाउने र पैदलयात्रुले पनि जथाभाबी ढङ्गले बाटो काट्दा बढी दुर्घटना भएको देखिन्छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले उपत्यकाभित्र हुने गाडी दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । दुर्घटना कम गर्न जाँड–रक्सी खाए–नखाएको जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा गाडी चलाउन नपाइने नियम, गाडीको स्थिति जाँच, लामो दूरीका गाडीमा दुई जना चालक छन् या छैनन् लगायत विषयलाई विशेष निगरानी गर्दै आएको उहाँले बताउनुभयो । साँघुरो बाटोमा तीव्र गतीमा गाडी चलाउँदा दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा विभिन्न कसुरमा चार लाख ५० हजार सात सय २९ गाडी धनीलाई कारबाही गरेको छ । जसमध्ये जाँड–रक्सी खाएर गाडी चलाउने १८ हजार छ सय २७ जना चालकलाई कारबाहीमा परेका छन् । यस्तै लेन अनुशासनमा २९ हजार चार सय दुई, तीव्र गतिमा ६१ हजार आठ सय ४३, रातो बत्तीमा १३ हजार तीन सय सात, फुटपाथ सडक पार्किङमा ५९ हजार आठ सय ५७, बढी भाडामा दुई सय १४, हर्न बजाउनेमा छ हजार दुई सय ७०, ओभरलोडमा तीन हजार तीन सय ३७ वटा गाडी कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

देशभर गाडी दुर्घटना बढेपछि सरकारले यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ बनाएको थियो । कार्यदलले झन्डै एक वर्ष लगाएर देशको यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गरेर सरकारलाई सुझाव बुझाइसकेको छ ।

कार्यदलको प्रतिवेदनअनुसार सडक यातायात दुर्घटनाको प्रमुख जोखिम क्षेत्र नै हो । नेपालमा प्रत्येक वर्ष गाडी दुर्घटनामा परि झन्डै तीन हजार जनाको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रत्येक दिन दुर्घटनाबाट नेपालमा औसतमा आठ जनाको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा सबैभन्दा बढी कम उमेर समूह १५ देखि २९ वर्षसम्मका व्यक्तिको ज्यान जाने गरेको तथ्य पनि प्रतिवेदनमा छ । दुर्घटनामा संलग्न गाडीमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५० दशमलव ७२ प्रतिशत छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाण्डौ उपत्यकाभित्र (काठमाण्डौ, भक्तपुर र ललितपुर) को ट्राफिक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालित छन् । अहिले देशभर ४० लाखभन्दा बढी गाडी सञ्चालनमा छन् । तीमध्ये काठमाण्डौ उपत्यकामा मात्र झन्डै १८ देखि २० लाख गाडी सञ्चालनमा रहेको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया