नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकियो

 माघ १२, २०८० शुक्रबार ९:१८:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक पर्ने कच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ ।

भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको योजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुुभयो । उहाँका अनुसार यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ ।

बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको र आठ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप आठ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने खनालको भनाइ छ । सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको र अब केही दिनमै कामलाई निरन्तरता दिने बताउनुुभयो ।

गैँडाकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको इन्जिनियर खनालको भनाइ छ । एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन लागिएको हो ।

पूर्वी खण्डमा अहिलेसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको खनालले बताउनुुभयो । उहाँका अनुसार दाउन्नेमा पाँच किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अरु ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने थप दुई लेन सडक विस्तार गर्ने गरी काम भैरहेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया