नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा माघभित्रै भित्तो काटिसकेर पुलको जग हाल्ने तयारी

 माघ १४, २०८० आइतबार १६:७:४२ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । दैनिक चार घण्टा गाडी रोकेर गएको पुस ७ गतेदेखि काम भइरहेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको ३५ मिटर गएको वर्ष नै काटिएको थियो । बाँकी २५ मिटरमध्ये अहिले एकातर्फको भाग ११ मिटर र अर्काेतर्फ १४ मिटर तल झरेको छ । अब मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ ।

आचार्यले भन्नुभयो, ‘भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ, माघभित्र सबै सकिन्छ ।’ पहाडको भाग अरू तल झरेपछि जाली लगाएर भित्तो काट्दा अब गाडी रोक्नु नपर्ने देखिएको छ । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी गाडी रोक्न नपर्ने आचार्यले बताउनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ वटा पुल एकैसाथ ठेक्का लगाइएकोमा आठ वटा पुल सञ्चालनमा आइसकेका छन् । जुगेडी–खहरी र सिमलतालका तीन वटा पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काली र नाम्चे खोलाको पुल तीन महिनामा सञ्चालनमा आउनेछन् ।

यस्तै मुग्लिन नजिकैको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउनेछ । अहिले भित्तो काट्दै गरेको ३ नंबर पुल जग खनेको ६ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया