भरतपुर भ्रमण वर्षको शुभारम्भ गरिँदै, पाँच पूर्व प्रधानमन्त्रीको साथमा प्रधानमन्त्रीले उद्घाटन गर्दै

 फागुन १८, २०८० शुक्रबार १२:३६:५० | रासस
unn.prixa.net

काठमाण्डौ – भरतपुर भ्रमण वर्षको आज शुभारम्भ हुँदैछ । चितवनको नारायणी नदी किनारमा दिउँसो १ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण वर्षको शुभारम्भ गर्न लाग्नुभएको हो । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा  उहाँले भ्रमण वर्षको उदघाटन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनुहुनेछ ।

यसैगरी चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उदघाटन गर्ने तयारी छ । 

भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपमेयर चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ ।

औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति गर्ने कार्यक्रम छ  । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपमेयर अधिकारीले जानकारी दिनुभयो ।

भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन् । ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।

भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया