क्षयरोगको औषधि नि:शुल्क भए पनि झण्डै आधा बिरामी उपचार बाहिर

 चैत ११, २०८० आइतबार ८:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर रहेका राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । उपचारको पहुँचमा नआउनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् । क्षयरोग लागेकाप्रति समाजको नकरात्मक दृष्टिकोण बाँकी रहनु र लामो समय नियमित औषधि प्रयोग गर्नुपर्ने भएकोले कतिपय बिरामी उपचारको पहुँचमा नपुग्ने गरेका हुन् । क्षयरोगको उपचार र औषधि नि:शुल्क छ ।

केन्द्रको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै नेपालमा ३७ हजार भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । पहिचान भएका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत विभिन्न अङ्गका क्षयरोगी छन् । सरकारले शुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत एक सय २५ पालिकामा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ ।

यो कार्यक्रम सबै पालिकामा विस्तार गर्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् ।

 आज ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइदैछ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया