काठमाण्डाै – अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को रौनकले सङ्घीय राजधानी काठमाण्डौ पूर्णरूपमा खेलमय बनेको छ । जहाँ हेरे पनि एनपीएलकै चर्चा, भीडभाड र ऊर्जा छ । यही वातावरणमा बाग्मती र काठमाण्डौ उपत्यकाको प्रतिनिधित्व गर्ने टोली काठमान्डु गोर्खाजले एनपीएललाई झनै उचाइमा पुर्याइदिएको छ । काठमान्डु गोर्खाज शीर्ष तीनमा परेर प्लेअफसम्म पुगेपछि समर्थकहरूको रोमाञ्च झन् बढेको छ । टोलीको प्रदर्शन, मैदानको वातावरण र राजधानीको क्रिकेटप्रेमले गरेर काठमाण्डौ अहिले साँच्चिकै उत्साह, आशाले भरिएको छ ।
यद्दपि एनपीएलले मात्रै हैन, काठमाण्डौ नै नेपाली क्रिकेटको मुटु हो । यहाँका सडक–गल्ली, साना मैदानदेखि लिएर ठूला रङ्गशालासम्म क्रिकेटको ऊर्जा जताततै भेटिन्छ । काठमाण्डौले खेलाडीका सपनालाई मात्र दिशा दिएको छैन, देशको समग्र खेल संस्कृतिलाई नै नयाँ स्तरमा उठाइदिएको छ । आज नेपाली क्रिकेट जुन उचाइमा पुगेको छ, त्यसको सबैभन्दा ठूलो आधार काठमाण्डौको निरन्तर योगदान नै हो ।
काठमाण्डौको सीतापाइला बस्ने उमेश श्रेष्ठका लागि क्रिकेट खेल मात्र हैन, हृदयसँग जोडिएको भावना हो । उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौले नेपाली क्रिकेटलाई दिएको अवसर, सम्भावना र वातावरण देशको कुनै पनि ठाउँसँग तुलना गर्नै सकिन्न । यही कारणले मेरो रोजाइ सधैँ काठमाण्डौ नै हो ।’ घर सर्लाही भए पनि उहाँको मन भने काठमान्डु गोर्खाजमै अडिएको छ । कप्तान करन केसीप्रति गहिरो मनोभाव भएकोले उमेश विना सोच नै काठमाण्डौलाई समर्थन गर्नुहुन्छ ।
उमेश जस्ता धेरै समर्थकका दृष्टिमा काठमाण्डौ केवल एउटा टिम होइन, नेपाली क्रिकेटको सबैभन्दा ठूलो अवसर र सम्भावनाले भरिएको केन्द्र हो । यहाँ नयाँ खेलाडीलाई सिकाउने एकेडेमीहरू धेरै छन्, प्रशिक्षण सुविधा राम्रो छ, खेल मैदान पर्याप्त छन्, यिनै कारणले काठमाण्डौ धेरैका लागि क्रिकेट सपना साकार पार्ने सबैभन्दा भरोसायोग्य ठाउँ बनेको छ ।
नेपालका धेरै जिल्लामा खेल मैदानको ठूलो अभाव छ । क्रिकेट खेल्न चाहने युवाहरू सडकको छेउ, खेतबारी, भिरालो जमिन वा साँघुरा गल्लीमै खेल्न बाध्य छन् । चौका–छक्का लाग्दा धानबारीमा बल हराउने, छिमेकीसँग झगडा पर्ने, खेल रोकिरहनु पर्ने—यस्तै समस्याले धेरैमा उत्साह घटाइदिन्थ्यो । तर काठमाण्डौमा भने यस्तो कठिनाइ त्यति महसुस हुँदैन । यहाँ खेलका लागि खुला ठाउँ धेरै छन्, निजी तथा सरकारी दुवै तहबाट क्रिकेटमा हुने निरन्तर लगानी बढिरहेको छ र संरचनागत विकासले खेलाडीको यात्रा अझ सहज र व्यवस्थित बनेको छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा—त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट रङ्गशालाले नेपाली क्रिकेटलाई आजको उचाइमा पुर्याएको छ । यही दुई मैदानले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको नक्सामा स्पष्ट रूपमा चिनाइदिएका हुन् । यी रङ्गशाला नहुँदो हो त, ठूलो प्रतियोगिता ल्याउने, विदेशका टोलीसँग खेलाउने, दर्शकको उत्साह देखाउने—यी जति अवसर सायद कहिल्यै मिल्ने थिएनन् । त्यसैले धेरै समर्थक भन्छन्, ‘काठमाण्डौ विना नेपाली क्रिकेट अधुरो हुन्छ, क्रिकेटको आधार नै यही शहर हो ।
काठमाण्डौको चक्रपथका सुरज अधिकारी भन्नुहुन्छ, ‘काठमाण्डौ र क्रिकेट छुट्टै होइनन्, एउटै सिक्काका दुई पाटा जस्तै हुन् । देशभर क्रिकेटका आवश्यक पूर्वाधार सबैभन्दा धेरै यही शहरमा छन् । धेरै ठाउँमा खेल मैदान नै भेटिँदैन, तर काठमाण्डौमा खेल्न, सिक्न र नियमित अभ्यास गर्न सजिलो छ ।’
उहाँका अनुसार काठमान्डु गोर्खाज मैदानमा सधैँ तीव्रता, ऊर्जा र आत्मविश्वासका साथ उत्रने टोली हो । विशेषगरी बलिङ त जसले पनि चिन्ने गरी बलियो छ र यही बलले टोलीलाई खेलमा निरन्तर अघि बढाइरहेको छ ।
काठमान्डु गोर्खाज नाम सुन्नासाथ राजधानीको संस्कार, पहिचान र ऊर्जा झल्किन्छ । काठमाण्डौको बूढानीलकण्ठका समर्थक कविराज आचार्य भन्नुहुन्छ, ‘यो टोलीले काठमाण्डौको खेल–आत्मा बोकेको छ । नाम मात्रै होइन, खेल्ने शैलीमै पनि राजधानीको पहिचान प्रस्टै देखिन्छ ।’
काठमाण्डौ आइपुग्ने धेरै खेलाडीहरू मनभरि ठूला–ठूला सपना लिएर आउँछन् । कसैको लक्ष्य राष्ट्रिय टोलीको जर्सी पहिरिने हुन्छ, कसैको चाहना प्रदेशका लागि खेल्दै आफ्नो नाम बनाउने । धेरै खेलाडीको भविष्य यही शहरले कोर्ने काम गरेको छ — कसैलाई पहिलो मौका, कसैलाई नयाँ दिशा र कसैलाई आफूभित्र लुकेको प्रतिभा बाहिर ल्याउने अवसर यहीँ मिल्छ । काठमाण्डौ पुगेपछि धेरैको सपना केवल सपना रहँदैन, बिस्तारै वास्तविकता बन्न थाल्छ ।
नेपाली क्रिकेट अहिले अत्यन्त लोकप्रिय बनेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता, सामाजिक सञ्जालमा बढ्दो चर्चा र युवा पुस्ताको जबरजस्त आकर्षणले क्रिकेटलाई देशकै प्रमुख खेल बनाइसकेको छ । धेरै युवा अब केवल मनोरञ्जनका लागि नभई भविष्य बनाउनका लागि नियमित अभ्यास र प्रतियोगितामा सक्रिय हुँदैछन् ।
काठमाण्डौ केवल नेपाली क्रिकेटको आधारशिला मात्र होइन, भविष्यको मार्गदर्शक पनि हो । सपनाको शहरका रूपमा परिचित यो ठाउँले नेपाली क्रिकेटलाई देशभित्र मात्र होइन, विदेशमा पनि चम्काउन ठूलो योगदान पुर्याएको छ । यहाँका अवसर र सुविधा भएकाले खेलाडीका सपनाहरू हराउँदैनन् बरु वास्तविकता बन्छन् ।