नेभिगेशन

प्रधानमन्त्रीको सचिवालयमा २७ जनालाई नियुक्ति, दुई सल्लाहकारलाई मन्त्रीसरहको सुविधा

काठमाण्डौ — प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएको खुलेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो ।

यसरी नियुक्ति पाएकाहरुमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरहको सेवा सुविधा दिइएको छ । अरु दुईजनाले राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन् । प्रधानमन्त्री सचिवालयमा ४८ जनासम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ ।

मन्त्री र राज्यमन्त्रीसरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाडी र चालक सुविधा समेत दिने गरेको छ । सांसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई ‘प्रधानमन्त्रीको सचिवालयमा कति जना कुन तह र स्तरको सेवा सुविधासहित कुन कानुनअन्तर्गत नियुक्त हुनुभएको छ ?’ भनी लिखित प्रश्न सोध्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी २ जना (मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार) र नेपाल सरकारको राज्यमन्त्री सरहको सुविधा पाउने गरी २ जना (नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार) को नियुक्ति भएको जनाएको छ । तर सचिवालयका कारण राज्यकोषमा पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाडी प्रयोग गर्छ भन्ने जवाफ भने प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाउनुभएको छ ।

यस्तै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा १३ जनासम्म राख्न पाउनेगरी दरबन्दी स्कीकृत गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जनालाई नियुक्ति दिएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि १३ जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिनुभएको हो ।

प्रकाशित मिति:
थप राजनीति