नेभिगेशन

एनपीएलले देशलाई दिएकाे खुशी !

काठमाण्डाै – तीन महिनाअघि भएको नवयुवाको आन्दोलन र त्यसले सिर्जना गरेको पीडा, तनाव र निराशाबीच थलिएको देशलाई एनपीएलले एउटै भावनामा बाँध्यो । देश अस्तव्यस्त भएको समयमा नेपाल प्रिमियर लिग (एनपीएल) ले त्यो अव्यवस्थालाई केही समयका लागि ओझेलमा पारिदियो । सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म फैलिएकाे एनपीएलको उत्साहले धेरैलाई दुःख र पीडाबाट केही क्षण टाढा राख्न सफल भयो ।

पर्यटन क्षेत्रमा असर परेका बेला ‘नेपाल असुरक्षित छ’ भन्ने धारणा चिर्दै एनपीएलले नेपाल सुरक्षित, शान्त र सक्षम देश हो भन्ने सन्देश विश्वसामु पुर्‍यायो । नकारात्मक परिस्थितिको बीचमा पनि एनपीएलले सकारात्मक ऊर्जा फैलायो ।

एनपीएलले देशलाई क्रिकेटको केन्द्रमा बाँध्यो । यो केवल खेल प्रतियोगिता मात्र रहेन, राष्ट्रिय एकताको प्रतीक बन्यो । यसभन्दा ठूलो उपहार एनपीएलले देशलाई अरू के दिन सक्छ र ?

गोरखाकाे गण्डकी गाउँपालिकाका आशिष आले मगर भन्नुहुन्छ, ‘एनपीएलले मधेश, पहाड र तराई—सबै नेपालीलाई एउटै ढिक्कामा बाँध्यो ।’ चौका–छक्का लाग्दा वा विकेट झर्दा सबै उस्तै खुशी देखिन्थे । बाहिरबाट हेर्दा टोलीहरूबीच कडा प्रतिस्पर्धा देखिए पनि भित्रभित्रै सिङ्गो देश एउटै थियो । एनपीएलले देखाएको क्रिकेट केवल खेल होइन, देशलाई एक बनाउने साझा भावना बन्यो ।

कुनै समय थियो, ‘बालबालिकालाई ठूलो भएर के बन्छौ ?’ भनेर सोध्दा उत्तर एउटै जस्तो हुन्थ्यो– ‘डाक्टर, पाइलट, इन्जिनियर, नर्स वा शिक्षक ।’ खेलाडी बन्छु भन्ने सपना बिरलै सुनिन्थ्यो । खेलकुदको क्षेत्रमा लाग्नु भनेको खोलाको ढुङ्गो बन्नुजस्तै ठानिन्थ्यो—न भविष्य देखिन्थ्यो, न सुरक्षाको अनुभूति । समाजको स्थापित संरचनालाई चुनौती दिएकोजस्तो मानिन्थ्यो ।

अभिभावकको बुझाइ स्पष्ट थियो—‘खेलेर के पाइन्छ ? पढ, राम्रो जागिर खाऊ, पैसा कमाऊ, जीवनभर सुखी हुन्छौ ।’ खेलकुदलाई चोटपटक, समयको बर्बादी र अनिश्चित भविष्यसँग जोडेर हेरिन्थ्यो । नाम त टाढाको कुरा, आम्दानी र सम्मान त झन् कल्पनाबाहिरको विषय थियो ।

तर यो मानसिकता अहिले बदलिँदै छ । एनपीएलले यही सोच फेरिदियो । एनपीएलले देखाइदिएको छ, खेलाडीले पनि खेलेरै राम्रो आम्दानी गर्न सक्छन् । नाम, दाम र सम्मान तीनै कुरा सम्भव रहेछ भन्ने उदाहरण मैदानमै देखिएको छ ।

आज अभिभावक आफ्ना छोराछोरी खेलाडी बने पनि राम्रो भविष्य बनाउने रहेछन् भन्ने निष्कर्षमा पुग्न थालेका छन् । भोलि राष्ट्रिय खेलाडी बन्न सके, उनीहरू राष्ट्रकै गहना बन्न सक्छन् भन्ने बुझाइ बलियो हुँदै गएको छ । खेलकुदले आर्थिक स्थायित्व मात्र होइन, सामाजिक मान–सम्मान र प्रतिष्ठा पनि दिलाउन सक्छ भन्ने सन्देश एनपीएलले दिएको छ ।

अनेक सङ्घ–संस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्न थालेका छन् । देशका विभिन्न ठाउँमा नयाँ रङ्गशाला बनिरहेका छन् । यी पूर्वाधार र गतिविधिले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएका छन् ।

यससँगै क्रिकेटप्रतिको क्रेज उल्लेख्य रूपमा बढेको छ । खेलप्रति हेर्ने दृष्टिकोण बदलिँदै गएको छ । क्रिकेटलाई लिएर सकारात्मक धारणा बनाउने वातावरण अझ सुदृढ बनेको छ । यसले खेलप्रतिको लगाव र सहभागिता दुवै बढाएको छ । खेलकुद पनि सम्भावनाको क्षेत्र हो भन्ने बुझाइ बढ्दै गएको छ ।

यस्तो धारणा विकास गर्न पहुँच र वातावरण आवश्यक हुन्छ । त्यो वातावरण अहिले एनपीएलले तयार पारेको छ । एनपीएलले देशभर खेलको उत्साह फैलाएको छ । यसकै कारण विभिन्न ठाउँमा क्रिकेटप्रतिको सहभागिता बढेको छ । पहिले अलपत्र परेका क्रिकेट मैदानमा अहिले स्थानीय युवा ब्याट र बल बोकेर खेल्न जाने संस्कार बढ्दै गएको छ ।

क्रिकेटले महिलाप्रतिको धारणा पनि बदलेको छ । पहिले रङ्गशालामा महिलाको उपस्थिति निकै कम हुन्थ्यो । तर अहिले चार/पाँच घण्टा बसेर खेल हेर्ने र समर्थन गर्ने महिलाको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । ‘क्रिकेट पुरुषले मात्र खेल्ने हो’ वा ‘महिलाले क्रिकेट बुझ्दैनन्’ भन्ने सोच पनि बदलिएको छ । यो परिवर्तन सकारात्मक हो ।

चितवनकाे रत्ननगरकी रेनु ढकाल भन्नुहुन्छ, ‘एनपीएलले महिलालाई पनि खेलको केन्द्रमा ल्याएको छ । उनीहरूलाई प्राथमिकतामा राखेको छ । यसले आउँदो पुस्ताको सोच र संस्कारमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास छ ।’

त्यसैमाथि समर्थकको उपस्थितिले पनि क्रिकेटप्रतिको लगावलाई अझ स्पष्ट पारेको देखियो । लिग चरणको खेलमै यति ठूलो सङ्ख्यामा समर्थक रङ्गशालामा पुग्नु कम चर्चाकाे विषय हाेइन । भरिएको रङ्गशालाले नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण र जनचासो प्रस्ट देखाएको छ । रङ्गशालाभित्र समर्थक फरक–फरक टाेलीका पक्षमा उभिए पनि त्यो प्रतिस्पर्धा देशकै क्रिकेट विकासका लागि थियो । यही एकताले नेपाल प्रिमियर लिगलाई अझ अर्थपूर्ण बनाएको छ ।

एनपिएलले स्वदेशी खेलाडीलाई सिक्ने, निखारिने र आफ्नो क्षमता देखाउने महत्त्वपूर्ण अवसर दिएको छ । राष्ट्रिय टोलीसम्म पुग्ने सपना बोकेका खेलाडीका लागि यो लिग एउटा ठूलो मञ्च बन्यो । मैदानमा देखिएको प्रतिस्पर्धा र आत्मविश्वासले खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्‍याे ।

रङ्गशालामा देखिएको समर्थकको उत्साहले विश्व क्रिकेट मञ्चमा पनि नेपालमा क्रिकेटप्रतिको क्रेज कस्तो छ भन्ने सकारात्मक सन्देश दिएको छ । भरिएका रङ्गशालाले खेलप्रतिको माया, एकता र उत्साह कुनै पनि देशका लागि ठूलो शक्ति हुन् भन्ने प्रमाणित गरेको छ । साथै राम्रोसँग खेल्ने हो भने जहाँबाट पनि अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण खेलाडीले दिएका छन् ।

काठमाण्डौकाे बानेश्वरका आयुष पोखरेल भन्नुहुन्छ, ‘एनपीएलमार्फत नेपाली खेलाडी चिनिन सफल भए । यस लिगले धेरै नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेको छ, याे एनपीएलको सबैभन्दा ठूलो उपलब्धि हो ।’

विदेशी टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनु पनि एनपीएलको अर्को महत्त्वपूर्ण सफलता हो । यसले नेपाली क्रिकेटलाई विश्वसामु चिनाएको छ । यही कारणले एनपीएलले पहिलो सिजनमै उल्लेखनीय सफलता हासिल गरेको मानिन्छ । अब आउने सिजनले अझ ठूलो सफलता पाउने अपेक्षा धेरैले गरेका छन् ।

पहिले व्यवस्थित रङ्गशाला नहुँदा दर्शक भुइँमै बसेर खेल हेर्न बाध्य हुन्थे । कतिपय त रुखमा चढेर आफ्नो ज्यान जोखिममा राखेर क्रिकेट हेर्थे । अहिले त्यो दृश्य फेरिएको छ । रङ्गशालाको स्वरूप बदलिएको छ—व्यवस्थित प्यारापिट, कुर्सीमा बसेर खेल हेर्ने सुविधा र पहिलो पटक फ्लडलाइटमा खेल हेर्ने अवसरले दर्शकको अनुभव नै बदलिदिएको छ ।

रुकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका घर भई काठमाण्डौकाे बागबजार बस्ने पूर्णचन्द्र खड्का भन्नुहुन्छ, ‘अहिले क्रिकेट हेर्न सुरक्षित र सहज वातावरण बनेको छ । अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट खेलाडी नेपाल आएका छन् । यसले नेपाल पनि विश्व क्रिकेट मञ्चमा उदाउँदै छ भन्ने सन्देश दिएको छ ।’

नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्राष्ट्रिय कमेन्टेटरको उपस्थितिले प्रतियोगितालाई थप विश्वसनीय बनाएको छ । खड्काका अनुसार एनपीएलले क्रिकेटलाई मात्र होइन, देशलाई नै एकताको साङ्लोमा बाँधेको छ । ‘एनपीएल आज देश चिनाउने पहिचान बनेको छ’, उहाँ भन्नुहुन्छ ।

काठमाण्डौकाे बूढानीलकण्ठका कविराज आचार्य पनि आउँदा दिनप्रति आशावादी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आउँदो सिजनमा क्रिकेटले अझ दुर्गम ठाउँहरूलाई पनि जोड्नेछ । यसले देशको नाम अझ उचो बनाउने विश्वास छ ।’ उहाँका अनुसार नेपाली क्रिकेटले भविष्यमा नेपालीलाई अझ धेरै खुशी दिनेछ र क्रिकेट विकासका लागि नेपाली सधैँझैँ एकजुट हुनेछन् ।

यो नेपाल प्रिमियर लिगको शुरुआती चरण मात्रै हो । अझै धेरै संरचना बनाउनु छ, धेरै प्रतिभा उजागर गर्न बाँकी छ । नेपाली क्रिकेट अझ धेरै माथि पुग्न बाँकी छ र त्यस यात्राको शुरुआत एनपीएलले गरिसकेको छ ।

प्रकाशित मिति:
थप विशेष