म गाउँमा बस्ने बुढो मान्छे । उमेरले डाँडो काटिसक्यो । घरमा आफू र जहानमात्रै । छोराछोरीको नकुरा गरौँ, उनीहरू अहिले नेपालका नागरिक कम र विदेशका बासिन्दा बढी भइसके । एउटा छोरो कतारमा छ, अर्को अष्ट्रेलियामा । नातिनातिना भिडियो कलमा मात्रै देखिन्छन् । घरमा बिरामी पर्दा पानी दिने मान्छे छैन । मरेको भा छोराछोरी, नातिनातिना, आफन्त र छिमेकी जसरी पनि घरमा जम्मा हुन्थे । बिरामी मात्रै हुँदा सहारा पाउनै गाह्रो भो । केही दिनअघि मेरो छाती दुख्न थाल्यो । सास फेर्न गाह्रो भयो । जहानले भनिन्, ‘अस्पताल जानुपर्छ ।’
मैले पनि सोचेँ, सरकारले यति धेरै विकास गरिसक्यो । अस्पताल गएपछि डाक्टर भेटिन्छन्, रोग सुनाउँछु, जाँच गर्छन्, औषधि दिन्छन् । अस्पताल बिरामीका लागि बनेको हो । उपचार गर्छ ठमठम घर फर्कन्छु ।
सोचेको त हो, तर साेचाइमै ठूलो भूल भएछ ।
अस्पताल पुगेपछि लाग्यो, म अस्पताल होइन, कुनै विशाल मेलामा आइपुगेछु । फरक यति थियो कि मेलामा मानिसहरू रमाउन आउँछन्, यहाँ सबै दुःख बोकेर आएका थिए ।
मैले अस्पतालका पालेजस्तो देखिने मान्छेलाई सोधेँ, ‘बाबु, डाक्टर कहाँ भेटिन्छन् ?’
उसले मलाई शिरदेखि पाउसम्म हेर्याे, मानौँ मैले प्रधानमन्त्रीको गोप्य कोठा कहाँ छ भनेर सोधेको छु ।
उसले झर्किएर भन्यो, ‘पहिला लाइनमा बस्नुस् ।’
जता हेर्याे, उतै लाइन नै लाइन छ । मैले फेरि सोधेँ, ‘कुन लाइन ?’
ऊ फेरि उसैगरी झर्कियो, ‘टिकट लिने लाइन, ऊ पर जानुस् ।’
अस्पतालमा पहिलो जाँच भनेको रोगको होइन, लाइनको रहेछ । कुन लाइन टिकटको, कुन लाइन डाक्टरको, कुन लाइन जाँचको, कुन लाइन रिपोर्टको—सबै छुट्टाछुट्टै ।
आधा घण्टा घुमेपछि टिकट लिने लाइन भेटियो । दुई घण्टा उभिएँ । टिकट पाइयो । मलाई लाग्यो, अब आधा युद्ध जितियो ।
तर त्यो त युद्ध शुरू भएको सूचनामात्रै रहेछ ।
त्यसपछि डाक्टर भेट्ने लाइन ।
फेरि अर्को दुई घण्टा ।
बल्ल पालो आयो । डाक्टरको कोठामा छिरेँ । डाक्टरलाई हेर्दा उनी आफैँ बिरामी हुन् कि म बिरामी छु भनेर छुट्याउन गाह्रो भो । वरिपरि पाँच जना बिरामी, बीचमा डाक्टर ।
डाक्टरले एकैपटक तीन जनाको कुरा सुनिरहेका थिए ।
एकजनाले भने, ‘मलाई मर्नेगरी टाउको दुखेको छ ।’
अर्कोले भने, ‘मेरो खुट्टा दुखेर हिँड्नै नहुने भएको छ ।’
तेस्रोले भने, ‘मेरो एक्स–रेको रिपोर्ट कस्तो छ त डाक्टर साब ?’
मैले आफ्नो व्यथा शुरू गर्न खोज्दै थिएँ, ‘डाक्टर साब, मेरो छातीमा......’
त्यति भन्न नपाउँदै उनले एउटा कागजमा केही कोरेर दिए, ‘रगत, पिसाब, खकार, एक्स–रे..’
मलाई लाग्यो, उनी डाक्टर कम, ज्योतिषी बढी रैछन् । मैले रोग सुनाउनै नपाउँदै सबै कुरा थाहा पाइसके ।
अब शुरू भयो दोस्रो अध्याय । जाँच कहाँ गर्ने ? अस्पतालमा जाँच गर्ने कोठा खोज्नु भनेको गाउँको मेलामा हराएको बाख्राको पाठो खोज्नुजस्तै रहेछ ।
एकजनाले उता पठायो । अर्कोले यता पठायो । तेस्रोले फेरि पहिलेकै ठाउँ फर्काइदियो । अन्ततः प्रयोगशाला भेटियो । त्यहाँ पनि लाइन । रोगले भन्दा लाइनले बढी पसिना निकाल्यो ।
रगत दिएँ । पिसाब दिएँ । खकार दिएँ । एक्स–रे पनि खिचाएँ । सबै सकिएपछि अब रिपोर्ट दिनुस् त भनेको हप्काउँदै भने, ‘भन्नेबित्तिकै कहाँ आउँछ रिपोर्ट, भोलि आउनुस् ।’
म छक्क परेँ । केही नखाई गाउँबाट बिहानै हिँडेर आएको । आजको दिन सकियो । खर्च सकियो । शक्ति सकियो । अब फेरि भोलि आउनुपर्छ रे !
मलाई पहिलोपटक थाहा भयो—नेपालमा रोग निको पार्नुभन्दा अस्पताल पुग्नु ठूलो उपलब्धि रहेछ ।
घर फर्किँदा छातीको दुखाइ कहाँ हरायो थाहा भएन । अस्पतालले दिएको नयाँ दुखाइले पुरानो दुखाइलाई थाहै नपाई विस्थापित गरिदियो ।
जहानले सोधिन्, ‘के भने त डाक्टरले ?’
मैले भनेँ, ‘अहिलेसम्म त लाइनमै रोग पहिचान भइरहेको छ ।’
अहिले समाचार सुन्छु, सरकारले घरघरमै पासपोर्ट पुर्याउन थाल्यो रे । खुशी लाग्यो । सोचेँ, अब घरघरमै स्वास्थ्य सेवा पनि आउला ।
तर यसो सम्झेको, आफैँसित हाँस उठ्यो । स्वास्थ सेवा घरघरमा पुर्याउने काममा जोखिम छ । सरकार सजिलो काम गर्न बनेको हो, त्यस्तो जोखिम किन मोल्ला ! पासपोर्ट घरमै पुग्यो भने मान्छे विदेश जान्छ । विदेश गयो भने यहाँको समस्या देख्ने मान्छे कम हुन्छ । गुनासो गर्ने मान्छे कम हुन्छ । लाइनमा बस्ने मान्छे कम हुन्छ । सरकारलाई सजिलो हुन्छ ।
तर स्वास्थ्य सेवा घरघरमै पुग्यो भने रोगी निको हुन्छ । मान्छे बलिया हुन्छन् । लामो समय बाँच्छन् । प्रश्न सोध्छन् । आलोचना गर्छन् । अधिकार माग्छन् । अस्पतालको लाइन किन छ भनेर सोध्छन् ।
त्यसैले होला, स्वास्थ्य सेवा घरमा पुर्याउनुभन्दा पासपोर्ट पुर्याउनु धेरै सुरक्षित रहेछ ।
अन्ततः मनमनै सत्यतथ्य बुझेँ, नेपालमा रोग लाग्नु दुःखको कुरा होइन । सरकारी अस्पतालमा उपचार खोज्नु चाहिँ साहसिक खेल हो । त्यो खेलमा पदक पाउनेहरू ती हुन् जो टिकट, लाइन, जाँच, रिपोर्ट र डाक्टरका सबै चरण पार गरेर जिउँदै घर फर्किन सफल हुन्छन् ।