नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

अमेरिका र इरानबीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानीजहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका १० सैन्य इलाकामा आक्रमण गरेको छ ।

यी  क्षेत्रमा सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए । त्यसको जबाफमा इरानको इस्लामिक रेभोलुसनरी गार्ड कोरले कुवेतको अली अल–सलेम बेस र बहराइनको पाँचौँ नौसेना फ्लीटमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ ।

दुवै पक्षले एकअर्कालाई जुन १७ मा हस्ताक्षर भएको १४ बुँदे युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः सुरु गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ ।

इरान र अमेरिकाबीच तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने बढेको छैन । दुई पक्षबीच युद्धविरामको सम्झौतापछि घटेको कच्चा तेलको भाउ केही दिनदेखि स्थिर रहेको छ । 

प्रकाशित मिति:
थप विश्व