नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

जर्मनीमा हिंसात्मक झडप, पोर्चुगलमा आवास संकटविरुद्ध प्रदर्शन

बढ्दो महँगी, आवास संकट, शिक्षा क्षेत्रको कमजोर अवस्था, बेरोजगारी र सार्वजनिक सेवामा सरकारी लगानीको कमीविरुद्ध युरोपका विभिन्न देशमा शुरु भएको युवाहरुको  आन्दोलन तेस्रो हप्तामा प्रवेश गरेको छ ।

फ्रान्सबाट शुरु भएको आन्दोलनको प्रभाव जर्मनी, पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन र अल्बानियासम्म फैलिएको छ ।  फ्रान्समा विद्यार्थी र श्रमिक संगठनहरूले भोलिदेखि थप प्रदर्शन र देशव्यापी हडतालका लागि आह्वान गर्ने तयारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

धेरैजसो प्रदर्शन शान्तिपूर्ण भए पनि केही शहरमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप, आगजनी, तोडफोड तथा लुटपाटका घटना भएका छन् ।

आन्दोलनको मुख्य केन्द्र फ्रान्सको राजधानी पेरिस बनेको छ । त्यहाँ हिजोसम्म साढे ३ लाखको हाराहारीमा मानिसहरु प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको  छ ।

विद्यालय भवनको जीर्ण अवस्था सुधार गर्नुपर्ने, शिक्षक अभाव अन्त्य गरी शिक्षामा पर्याप्त बजेट छुट्याउनुपर्ने, विश्वविद्यालय भर्ना प्रणालीलाई निष्पक्ष बनाउनुपर्ने, बढ्दो महँगी र जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, विद्यार्थी आवास र रोजगारीका अवसर विस्तार गर्नुपर्ने, सार्वजनिक सेवामा सरकारी लगानी बढाउनुपर्ने लगायत माग छन् ।

विद्यार्थीबाट शुरु भएको आन्दोलनमा श्रमिक संगठन, जलवायु अभियन्ता, अभिभावक तथा सरकारको नीतिप्रति असन्तुष्ट नागरिकसमेत सहभागी भएका छन् ।

प्रकाशित मिति:
थप विश्व