नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

भूटानमा एकैदिन १०८ बाैद्ध स्तूप निर्माण

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजनाअन्तर्गत भूटानमा आज एकैदिन ४० हजारभन्दा धेरै स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन् ।

भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तूप प्रत्येक १५ मिटर अग्ला छन् ।

स्वयंसेवकहरूले मध्यरातपछि निर्माण कार्य शुरू गरी एकैदिनमा सबै १०८ स्तूप निर्माण गरेका समाचार संस्था एएफपीले जनाएकाे छ ।

भूटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले सन् २०२४ मा शाही आदेशमार्फत यस विशेष क्षेत्रको स्थापना गर्नुभएको थियो । उहाँले यसको उद्देश्य जीवन्त आर्थिक केन्द्र निर्माण गर्नु रहेको बताउनुभएको थियो ।

चीन र भारतको बीचमा रहेको भूपरिवेष्टित भूटानको जनसङ्ख्या झन्डै आठ लाख छ । आर्थिक विकाससँगै ‘कुल राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने नीतिका कारण भूटान परिचित छ ।

नयाँ शहर निर्माणमार्फत अर्थतन्त्रलाई गति दिने र रोजगारीका अवसर सिर्जना गरी युवालाई स्वदेशमै बस्न प्रोत्साहित गर्ने भूटानको लक्ष्य छ ।

भूटान अहिले घट्दो जन्मदर र रोजगारी तथा अन्य अवसरको खोजीमा विदेशिने युवाको समस्यासँग जुधिरहेको छ । सन् २०१७ को पछिल्लो जनगणनाअनुसार गेलेफु शहरको जनसङ्ख्या १० हजारभन्दा कम छ ।

आयोजकहरूका अनुसार बौद्ध परम्परामा विशेष महत्त्व राख्ने यी १०८ स्तूपको कुल उचाइ इजिप्टको गिजामा रहेकाे ग्रेट पिरामिडको उचाइभन्दा १० गुणा धेरै छ । परियोजनाको अनुमानित लागत दुई करोड १० लाख अमेरिकी डलर रहेको छ ।

भारतीय अर्बपति गौतम अदानीको नेतृत्वमा रहेको अदानी समूह गएकाे जनवरीमा गेलेफु माइन्डफुलनेस सिटीको संस्थापक सदस्यका रूपमा जोडिएको थियो ।

यो शहर छिमेकी भारतीय राज्य असमकाे रेल सञ्जालसँग जोडिनेछ । साथै सन् २०२९ मा यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

याे परियोजना भूटानको क्रिप्टोकरेन्सीसम्बन्धी महत्त्वाकाङ्क्षासँग पनि जोडिएको छ । भूटानले आफ्नो अतिरिक्त जलविद्युत् प्रयोग गरी बिटक्वाइन उत्खनन गर्दै आएको छ । साथै शहरको विकासमा डिजिटल सम्पत्तिको उपयोग गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति:
थप विश्व