नेभिगेशन

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाण्डाै – सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्त्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो ।

सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो । मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुन सक्ने क्षति न्यूनकीरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसद्लाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिनुभएको छ ।

यसैबीच सांसदहरूले कर्णालीका सडकलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन् । आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त भयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका गाडी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णालीका नागरिकले सडक असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासिनताप्रति आपत्ति जनाउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति