नेभिगेशन

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सरकारी खाना बन्द

काठमाण्डौ : काठमाण्डौ उपत्यकाका नदी/खोला किनारका सुकुम्वासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले उनीहरूलाई खाना दिन बन्द गरेको छ । 

बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले हिजोदेखि खाना दिन बन्द गरेको हो । काभ्रेको बनेपा, भक्तपुरको खरिपाटी, नगरकोटको खानेपानी केन्द्र, इचगुं अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीहरूलाई खाना दिन रोकिएको हो । बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीडितहरूले बताएका छन् । 

सरकारले १९ गतेसम्मको मात्र रकम दिने भनेपछि होटेलमा राखिएको सुकुम्वासीसँग होटेल सञ्चालकहरूले चार दिनको रकम माग्दै खान नदिने बताएका छन् । सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार १९ अर्थात गएको शुक्रबार भित्र राहत रकम लिएर खाली गर्न सूचना टाँसेको थियो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार १९ गतेभित्र २५ हजार रुपैयाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन् । 

विभिन्न होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्वासीमध्ये एक हजारभन्दा धेरै परिवारले अस्ति आइतबारसम्म २५ हजार रुपैयाँका दरले रकम लिएका छन् । हिजोसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सम्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो । 

सरकारले सुकुम्वासीहरूलाई शुरुमा स्वव्यवस्थापनका लागि २५ हजार रुपैयाँ र सुकुम्वासी प्रमाणित भए थप तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ ।   

प्रकाशित मिति:
थप राजनीति