‘बाः एक योद्धा’मा खुशी र तनाव
काठमाण्डौ – भदौ १९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् ।
पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ । पहिलो पोस्टरमा स–परिवार बसेर तस्वीर खिचाइरहेको जस्तो देखिएको छ । जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने बाँकी तीन सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन् ।
घरको आँगनमा तस्वीर खिचाइरहेका उनीहरू सबै हँसिलो चेहरामा छन् । भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दसैँको समयको सङ्केत गरिरहेको छ । साथमा कुकुर पनि छन् । यसले इमानदार परिवारको बिम्बको काम गरेको छ । तस्वीरमा देखिएका पात्र र उनीहरूको पहिरनले मध्यम वर्गीय परिवार रहेको अनुमान लगाउन सकिन्छ ।
दोस्रो पोस्टरका पात्रको चेहरामा कौतुहलता र तनाव छ । यो पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा केही अचानक आएको अनपेक्षित घटनाले कौतुहलता सिर्जना गरेको देखिन्छ । यो पोस्टरमा रहेका दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा रिस देखिन्छ । यो पोस्टरमा रहेका अर्का पात्र हुन्, माओत्से गुरुङ । उनको अनुहारमा भने कुटिल मुस्कान देखिएको छ । यसले उनी खलपात्रका रूपमा त रहेका छैनन् भनेर शङ्का गर्ने ठाउँ छ ।
सार्वजनिक दुई पोस्टरले एक सुखी परिवारमा अचानक आएको केही अनपेक्षित घटनालाई सङ्केत गरेको छ । यसले पारिवारिक उतारचढाव र त्यसको बैठानका लागि हुने सङ्घर्ष वरिपरि सिनेमाको कथा रहने अनुमान लगाउन सकिन्छ ।
नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, सङ्घर्ष र जीवनभर झेल्ने चुनौती नै हरि लम्सालको निर्देशन रहेको चलचित्रको मुख्य कथा हो ।
चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते कुशे औँशी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको निर्माण टिमले जनाएको छ ।