नेभिगेशन

नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सकियो

काठमाण्डौ — नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ ।

कुल ४३ किलोमिटर लम्बाइ रहेको यो खण्डमा अहिलेसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान गरी कुल २७ किलोमिटर सडक निर्माण सकिएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाकाअनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।

आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पु¥याउने लक्ष्य राखेको भएपनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो ।

मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ । दोस्रो खण्ड (नौबिसे–मलेखु) मा अहिलेसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ ।

निर्माण कम्पनीका ज्ञानेन्द्र घिमिरेका अनुसार मौसमले साथ दिएमा अबका केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।

    

प्रकाशित मिति:
थप सडक र सवारी