नेभिगेशन

टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनजना दोषी ठहर

काठमाण्डौ — विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनै जनालाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना ठहर भएको छ ।

झाको हकमा थप ६ महिना कैद हुने समेत अदालतले ठहर गरेको छ । टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा तीन जना दोषी ठहर भएका हुन भने बाँकी १६ जनाले सफाइ पाएका छन् । यो प्रकरणमा पूर्व सञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सफाइ पाउनुभएको छ ।

त्यस्तै अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडालाई सफाइ दिएको छ । विशेष अदालतले उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्यलाई सफाइ हुने ठहर गरेको हो ।

अदालतले प्राधिकरणका कर्मचारी विजयकुमार राय, भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई सफाइ दिएको छ ।

प्रकाशित मिति:
थप राजनीति