नेभिगेशन

एआई मेमोरी चिपको माग बढेसँगै सामसङको नाफा झन्डै १९ गुणाले बढ्ने अनुमान

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्शले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा १९ गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।

आज सार्वजनिक भएको प्रारम्भिक विवरणअनुसार कम्पनीले गएको अप्रिलदेखि जुन महिनासम्मको अवधिमा परिचालन नाफा ५८ अर्ब ४० करोड अमेरिकी डलर पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १ हजार ८१० प्रतिशत अर्थात् झन्डै १९ गुणाले धेरै हो ।

विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढेर १ खर्ब १३ अर्ब डलर पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले धेरै हो । कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ ।

एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्‍याएको छ । यही कारण सामसङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेपछि सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो ।

सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको शेयर मूल्य झन्डै ७ प्रतिशतले घटेको थियो । सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटले पनि कम्पनीमा प्रभाव परेको विश्लेषकहरूले बताएका छन् ।

सामसङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा झन्डै ५ खर्ब २८ अर्ब डलर बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन् । 

एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन् । यसले ती उपकरणको मूल्यसमेत बढाउन थालेको विश्लेषण गरिएको छ ।

दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ । राष्ट्रपतिका प्रमुख सचिव काङ हुन–सिकले कर राजस्वबाट प्राप्त थप आम्दानी एआई तथा सेमिकन्डक्टर उद्योगका ठूला परियोजनामा लगानी गरिने र त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

प्रकाशित मिति:
थप विश्व