दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्शले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा १९ गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।
आज सार्वजनिक भएको प्रारम्भिक विवरणअनुसार कम्पनीले गएको अप्रिलदेखि जुन महिनासम्मको अवधिमा परिचालन नाफा ५८ अर्ब ४० करोड अमेरिकी डलर पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १ हजार ८१० प्रतिशत अर्थात् झन्डै १९ गुणाले धेरै हो ।
विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङका अनुसार यस अवधिमा राजस्व पनि उल्लेखनीय रूपमा बढेर १ खर्ब १३ अर्ब डलर पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले धेरै हो । कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ ।
एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्याएको छ । यही कारण सामसङले यसअघि कामदारसँग बोनससम्बन्धी सहमति गरेपछि सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो ।
सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको शेयर मूल्य झन्डै ७ प्रतिशतले घटेको थियो । सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटले पनि कम्पनीमा प्रभाव परेको विश्लेषकहरूले बताएका छन् ।
सामसङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा झन्डै ५ खर्ब २८ अर्ब डलर बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन् ।
एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन् । यसले ती उपकरणको मूल्यसमेत बढाउन थालेको विश्लेषण गरिएको छ ।
दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ । राष्ट्रपतिका प्रमुख सचिव काङ हुन–सिकले कर राजस्वबाट प्राप्त थप आम्दानी एआई तथा सेमिकन्डक्टर उद्योगका ठूला परियोजनामा लगानी गरिने र त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताउनुभएको छ ।