नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

भूटानमा हिमताल विस्फोट, भारतमा पनि सतर्कता

भूटानको उत्तरी गासा जिल्लामा रहेको सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् ।

डेली भुटानका अनुसार हिजो बेलुका लुङ्गो, लया गेओगमा रहेको वाकिला पहाड नजिकको तालबाट पानी बाहिरिएको थियो । राति सवा ८ बजेतिर बाढीको पानी ताकत्सेमाखाङ पुगेपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । राजमार्गको झन्डै ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म गाडी आवतजावत बन्द भएको खबरमा उल्ले ख छ ।

सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको र चेतावनी साइरन बजाइएको थियो । तालबाट निस्किएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण पुष्टि हुन बाँकी छ ।

सिन्टाफु तालको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ जहाँ फो छु नदीसँग मिसिएर पुनात्साङछु बन्छ । यो नदी पछि सङ्कोशका रूपमा भारत प्रवेश गर्छ ।

सिन्टाफु भूटानका १७ सम्भावित जोखिमयुक्त हिमतालको सूचीमा रहेकोमध्ये एक हो । सन् २०२३ मा भूटानी विज्ञहरूले यसको अध्ययन गरी ताल, प्राकृतिक बाँध र पानी आपूर्ति गर्ने हिमनदीको अवस्था जाँच गरेका थिए । जोखिम निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो ।

यसैबीच भारतको केन्द्रीय जल आयोगले बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ । आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा पानीको सतह अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको जलस्तर निगरानी गर्न र सावधानी अपनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप विश्व