नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

उत्तर कोरियाद्वारा समुद्रतर्फ १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाइएको हो ।

घटनापछि दक्षिण कोरियाले निगरानी बढाउनुका साथै अमेरिका र जापानसँग सूचनाको आदानप्रदान गरिरहेको जनाएको छ । सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो।

गत महिना बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई देशबीचको तनाव थप चुलिएको छ । दक्षिण कोरियाले उक्त घटनामा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाए पनि प्योङयाङले अस्वीकार गर्दै आएको छ ।

दक्षिण कोरियाले सम्भावित सैन्य झडप रोक्न सीमासम्बन्धी वार्ताको प्रस्ताव गरे पनि उत्तर कोरियाले त्यसको जवाफ दिएको छैन । पछिल्ला सातामा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरिने क्रुज क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्रसहित विभिन्न हतियार परीक्षण गर्दै आएको छ । 

प्रकाशित मिति:
थप विश्व