नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

स्पेनमा उच्च गतिका दुईवटा रेल ठोक्किंदा ज्यान गुमाउनेको संख्या ६८ पुग्यो

स्पेनमा उच्च गतिको दुईवटा रेल आपसमा ठोक्किंदा ज्यान जानेको संख्या कम्तीमा ६८ जना पुगेको छ ।

दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनको राजधानी म्याड्रिडबाट झण्डै एक सय ४० किलोमिटर दक्षिणमा रहेको टोलेदो प्रान्तको मोरा र ओर्गाज नगरको बीचमा हिजो दुर्घटना भएको हो ।

म्याड्रिडबाट सेभिया जाँदै गरेको रेलले रेलमार्गमा रोकिएको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको बीबीसीले जनाएको छ । दुर्घटनापछि एउटा डिब्बामा आगलागी समेत भएको छ ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार, कम्प्युटर प्रणालीमा आएको खराबीपछि मानवीय त्रुटि हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।

निजी रेल सेवा प्रदायक कम्पनी इरियोद्वारा सञ्चालित रेलमा एक सय ४७ जना यात्रु थिए । त्यस्तै, स्पेनको सरकारी रेल कम्पनी रेन्फेद्वारा सञ्चालित अर्को रेलमा तीन सय ९७ जना यात्रु रहेको बताइएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाइने बताउनुभएको छ । दुर्घटनालाई सन् २०१३ पछिकै स्पेनको सबैभन्दा ठूलो र घातक रेल दुर्घटनाका रूपमा लिइएको छ ।

प्रकाशित मिति:
थप विश्व