नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समाथि साइबर आक्रमण हुँदा प्रयोगकर्ताको वालेटबाट अर्बौं डलर चोरी भएको छ ।

बाइनान्सबाट झण्डै ६.३ अर्ब अमेरिकी डलर बराबरको रकम चोरी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो चोरीबारे अनुसन्धान शुरु भएको छ ।

क्रिप्टो बजारमा खलबली मच्चाएको यो घटनापछि बिटक्वाइनको मूल्य ७६ हजार अमेरिकी डलरमा झरेको छ । इथरको मूल्य पनि दुई महिनायताकै न्यून विन्दुमा पुगेको छ ।

बाइनान्सको आफ्नै टोकन बीएनबीको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र चोरीबाट भएको सम्पूर्ण क्षति कम्पनीले बेहोर्ने जनाएको छ ।

रोयटर्सले बाइनान्सको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै कम्पनीका एक डेभअप्स इन्जिनियरको ल्यापटपमा पहुँच बनाएर आक्रमणकारीले एउटा सर्भिस कन्टेनरमा प्रवेश पाएका थिए । त्यसपछि उनीहरूले अनधिकृत रूपमा रकम स्थानान्तरण गरेको कम्पनीले जनाएको छ ।

बाइनान्सले घटनाबाट झण्डै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा प्रभाव परेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको बीबीसीले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति:
थप विश्व