नेभिगेशन

सिंहदरबारमा ‘ह्वीलचियर र सहयोगी सेवा शुरू

काठमाण्डाै – सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गर्नुभएको यो सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् ।

सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताउनुभयो ।

उहाँका सिंहदरबारका धेरैजसो कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि प्रत्येक ह्वीलचियरसँगै एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पुर्‍याउनेछन् ।

यो सेवा आउँदा दिनमा देशभरका अन्य सरकारी निकायले पूर्ण कार्यान्वयन गर्नेछन् ।

प्रकाशित मिति:
थप समाज