नेभिगेशन

महाेत्तरीकाे जलेश्वर जलमग्न

काठमाण्डाै – लामो समयपछि आज दिउँसो परेको मुसलधारे वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

झन्डै डेढ घण्टासम्म लगातार परेको मुसलधारे वर्षाले जलेश्वरसहित वरपरको क्षेत्र जलमग्न बनेको हो । वर्षाका कारण जलेश्वरका सडकमा १ देखि ३ फिटसम्म पानी जमेको थियो । त्यस बेला सडक यातायात प्रभावित बन्यो ।

महेन्द्रचोकको हनुमान मन्दिर पनि डुबानमा परेको छ । जलेश्वर नगरपालिका–२ मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ ।

आज राति, भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना छ ।

आज राति मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका पहाड र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा, मधेशसहित कोशी, बागमती, गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईको १/२ ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि केही ठाउँमा यसैगरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज