नेभिगेशन

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव कायमै

अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ । हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिआक्रमण शुरु भएपछि गएको महिना भएको अस्थायी युद्धविराम संकटमा परेको छ ।

इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ । तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न आफ्ना नौसैनिक बल परिचालन गरिएको जनाएको छ । तनाव बढेपछि अमेरिकी केन्द्रीय कमान्डले इरानका १४० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड काेर्प्सले अमेरिका र उसका क्षेत्रीय साझेदारविरुद्ध व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनतर्फ पनि मिसाइल तथा ड्रोन प्रहार गरेको दाबी गरेको छ । ती देशहरूले भने आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेर अधिकांश आक्रमण विफल बनाइएको बताएका छन् ।

बीबीसीका अनुसार अमेरिकाले जोर्डनमा सैन्य अड्डामाथिको आक्रमणबारे थप विवरण सार्वजनिक गरेको छैन । पछिल्ला अमेरिकी आक्रमणले शान्तिका लागि शुरु भएको कूटनीतिक प्रयास विफल जस्तै बनेको छ । पछिल्ला घटनाक्रमले दुवै देशबीचको विश्वासको वातावरण थप कमजोर बनाएको छ ।

विश्वको ठूलो हिस्सा तेल आपूर्ति हर्मुजको बाटो हुने भएकोले बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार र विश्व सुरक्षामाथि गम्भीर प्रभाव पार्ने चिन्ता बढेको छ ।

राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:
थप विश्व