नेभिगेशन

२४ घण्टामा मकवानपुरगढी र म्याग्दीमा १२१ मिलिमिटर वर्षा

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ ।

केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ भने केही क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले यो क्रम अझै चलिरहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैमा आग्रह गर्नुभयो ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर वर्षामापन भएको छ । सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

काठमाण्डाै उपत्यकामा पनि ठूलो पानी परेको छ । सिन्धुली, झापा, सङ्खुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवलपरासी पश्चिम, पाल्पा, बाँके, कैलाली, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लम्जुङ, खोटाङ, बाग्लुङ, पर्वतलगायत जिल्लामा पनि ठूलो पानी परेको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद् अर्यालले उल्लेख गर्नुभयो ।

आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति धेरै सक्रिय हुने सम्भावना रहेको अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज