नेभिगेशन

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको ज्यान गयो

भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा नौ जना कामदारको ज्यान गएको छ । 

केन्द्रका सञ्चालकले विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ । भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुन अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधारसम्बन्धी दुर्घटना हुने गरेका छन् । 

गएको बुधबार पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो । नजिकै रहेको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका २३ जना व्यक्ति पुरिएका थिए । 

निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख छ । १४ जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ । संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ । 

मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन् ।

प्रकाशित मिति:
थप विश्व