नेभिगेशन

क्यानडाको ओन्टारियो प्रान्तमा लागेको डढेलो तीव्र बन्दै

क्यानडाको ओन्टारियो प्रान्तमा फैलिएको डढेलो तीव्र बन्दै गएको छ ।

आगलागीबाट निस्किएको बाक्लो धुवाँ अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा एउटा रेलका कर्मचारीले आगोबाट बचाउन गुहार मागेको भिडियो सार्वजनिक भएको छ । 

त्यहाँको राष्ट्रिय रेल सेवाले घटनामा रेलका सबै कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरिएको र रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ । ओन्टारियोमा मात्रै १०० भन्दा बढी डढेलो सक्रिय छ  ।

क्यानडाभर ८३८ वटा ठाउँमा आगलागी भएको छ  । डढेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन् । डढेलोबाट निस्किएको बाक्लो धुवाँले क्यानडाको सबैभन्दा ठूलो सहर टोरन्टोलाई ढाकेको छ । हिजो त्यहाँको आकाश पहेँलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था  आईक्यूएयरले टोरन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ । 

खराब वायु गुणस्तरका कारण टोरन्टोमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका छन् । धुवाँ अब अमेरिकातर्फ फैलिन थालेको खबरमा उल्लेख छ । विशेष गरी न्यू जर्सीसहित उत्तरपूर्वी अमेरिकी राज्यहरू प्रभावित हुने अनुमान गरिएको छ । 

आउँदो सोमबार न्यू जर्सीमा हुने फिफा विश्वकपको फाइनलअघि धुवाँको प्रभावबारे अधिकारीहरूले सतर्कता बढाएका छन् । यसैबीच, क्यानडा र अमेरिकाका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सकेसम्म घरभित्र बस्न, बाहिर निस्कनै परे कडा शारीरिक गतिविधि नगर्न तथा धुवाँबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । 
 

प्रकाशित मिति:
थप विश्व