नेभिगेशन

गए राति हल्कादेखि मध्यम वर्षा, सप्तकोशीमा पानीको बहाव बढ्यो

काठमाण्डौ - गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् ।

पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केत स्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । सप्तकोसीमा तमोर, अरुण, सुनकोशी, दूधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ ।

वर्षा याममा पानीले भरिने सप्तकोशी सुख्खा समयमा भने धेरै ठाउँमा बालुवाले भरिएको देखिन्छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको हिमाली भेग तथा कोशी, बागमती, गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भेगको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज