नेभिगेशन

जलनपछिको सही प्राथमिक उपचार नै ज्यान बचाउने उपाय

पछिल्लो एक हप्तामा तीन जनाले आफ्नै शरीरमा आगो लगाएका घटनाले समाजलाई स्तब्ध बनाएको छ । तीनै जनालाई अस्पताल पुर्‍याइए पनि उनीहरूको जीवन जोगाउन सकिएन । मुगुका गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाह गरेको घटनाले सडकदेखि सदनसम्म व्यापक चर्चा पायो । आगो लागेपछि तत्काल अस्पताल लैजाने प्रयास त गरियो, तर त्यसअघि जलनबाट हुने क्षति कसरी कम गर्न सकिन्छ भन्ने विषयमा भने पर्याप्त ध्यान पुगेको देखिएन ।

‘जलन भएर अस्पताल नपुग्दासम्म बिरामीलाई कस्तो प्राथमिक उपचार गर्ने भन्ने विषय अत्यन्त महत्त्वपूर्ण छ । तर हाम्रो समाजमा आगो लाग्ने बित्तिकै प्राथमिक उपचारभन्दा अस्पताल पुर्‍याउने हतारो बढी हुने गरेको छ’ कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शंकरमान राई भन्नुहुन्छ, ‘मुगुका गणेश नेपालीको घटनामा पनि आगो निभाउने र जलनको क्षति कम गर्ने प्राथमिक उपाय अपनाउनुभन्दा अस्पताल लैजानमै बढी ध्यान केन्द्रित भएको देखिन्छ ।’ 

करिब १२ वर्षअघि कीर्तिपुर अस्पतालमा शरीरको ४० प्रतिशत भाग जलेका बिरामीमध्ये एक जनालाई पनि बचाउन निकै कठिन हुने गरेको थियो । तर अहिले यस्ता बिरामीमध्ये ५० प्रतिशतलाई सफल उपचारपछि घर फर्काउन अस्पताल सक्षम छ

कुनै पनि कारणले शरीरमा आगो लागेमा तत्काल सही प्राथमिक उपचार गर्न सके व्यक्तिको ज्यान जोगाउन सकिन्छ । तर आवश्यक प्राथमिक उपचार नगरी अस्पताल पुर्‍याइँदा धेरैले ज्यान गुमाउने गरेका छन् । पछिल्लो एक हप्तामा जलेका तीनै जनालाई बचाउन नसक्नु यसको ज्वलन्त उदाहरण रहेको डाक्टर राई बताउनुहुन्छ । 

नेपालमा जलनका कारण हरेक वर्ष झण्डै दुई हजार जनाको ज्यान जाने गरेको अनुमान छ । वार्षिक करिब ६० हजार जनामा जलनको समस्या देखिए पनि झण्डै २ हजारदेखि ४ हजार जनालाई मात्र अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था हुने गरेको विभिन्न अस्पतालहरूको तथ्याङ्कले देखाउँछ । अहिले पनि कीर्तिपुर अस्पतालमा दैनिक औसत ३० जना तथा वीर अस्पतालमा औसत १० जना बिरामी जलनको उपचारका लागि पुग्ने गरेका छन् ।

‘करिब १२ वर्षअघि कीर्तिपुर अस्पतालमा शरीरको ४० प्रतिशत भाग जलेका बिरामीमध्ये एक जनालाई पनि बचाउन निकै कठिन हुने गरेको थियो । तर अहिले यस्ता बिरामीमध्ये ५० प्रतिशतलाई सफल उपचारपछि घर फर्काउन अस्पताल सक्षम छ’ कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीले भन्नुभयो ।

जलेको शरीरमा प्राथमिक उपचार कसरी गर्ने ?

कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शंकरमान राईका अनुसार कुनै पनि कारणले शरीरमा जलन भएमा सबैभन्दा पहिले बिरामीलाई थप जल्नबाट रोक्नुपर्छ । यदि शरीरमा आगो लागेको छ भने सकेसम्म लडीबुडी गरेर वा अन्य उपाय अपनाएर आगो निभाउने प्रयास गर्नुपर्छ । यदि बिरामी आफैँले नसकेमा नजिकका व्यक्तिले भिजेको कपडा वा पानी प्रयोग गरेर आगो निभाउन सहयोग गर्नुपर्छ ।

राई थप्नुहुन्छ, ‘त्यसपछि शरीरमा रहेका धातुका गहना, घडी, बेल्ट वा अन्य सामग्री तुरुन्त हटाउनुपर्छ । बिरामीको अवस्था कति जटिल हुन्छ भन्ने कुरा प्रारम्भिक उपचार सही ढङ्गले गरिएको छ वा छैन भन्नेमा धेरै निर्भर गर्छ ।’
जलन भएको भागमा कम्तीमा आधा घण्टासम्म निरन्तर बगिरहेको सफा पानी बगाउन सकेमा जलनको असर गहिरो हुनबाट रोक्न सकिने डा. राईको भनाइ छ । उहाँका अनुसार बोतल, धारा वा पाइपबाट लगातार पानी बगाउँदा जलनको घाउ थप गम्भीर बन्न पाउँदैन र शरीरका अरू भागमा असर फैलिने सम्भावना कम हुन्छ ।’

प्राथमिक उपचारमा के गर्ने  ? 

  • जल्ने बित्तिकै बिरामीलाई सुरक्षित ठाउँमा सार्ने ।
  • शरीरबाट कपडा, गहना तथा कसिला सामग्री हटाइदिने ।
  • जलेको भागमा कम्तीमा ३० मिनेटसम्म सफा पानी निरन्तर बग्न दिने ।
  • अस्पताल नपुग्दासम्म वा २४ घण्टासम्म पर्याप्त मात्रामा पानी वा जीवनजल पिउन दिने ।
  • जलेको भागमा टुथपेस्ट, घिउकुमारी, गोलभेँडा, तेल, घिउ वा अन्य कुनै पनि घरेलु पदार्थ नलगाउने ।
  • सकेसम्म छिटो स्वास्थ्य संस्था वा अस्पताल पुर्‍याउने ।

डाक्टरहरूका अनुसार जलन पीडितलाई समयमै सही प्राथमिक उपचार गर्न सकियो भने अस्पतालमा आउने धेरै बिरामीको ज्यान जोगाउन सकिन्छ । पर्याप्त पानी वा झोलिलो पदार्थ पिउन दिनु र जलेको भागमा कम्तीमा आधा घण्टा निरन्तर पानी बगाइराख्नुले जलन गहिरो हुनबाट रोक्छ । यसले शरीरका अङ्गहरू गम्भीर रूपमा क्षतिग्रस्त हुनबाट जोगाउन मद्दत मिल्ने कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी बताउनुहुन्छ ।

जलनसम्बन्धी उपचार हुने अस्पताल

नेपालमा जलनसम्बन्धी उपचार सेवा उपलब्ध हुने प्रमुख अस्पतालहरूमा कीर्तिपुर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाण्डौ मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सुष्मा कोइराला मेमोरियल अस्पताल रहेका छन् । साथै काठमाण्डौ उपत्यकाबाहिर पाँच वटा प्रादेशिक अस्पतालमा पनि जलन उपचार सेवा उपलब्ध छ ।

उपत्यकाका अधिकांश अस्पतालमा जलनसम्बन्धी शल्य चिकित्सक उपलब्ध भए पनि प्रादेशिक अस्पतालहरूमा अझै पर्याप्त विशेषज्ञ जनशक्ति छैन । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा पाँच वटा प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था भए पनि विशेषज्ञ चिकित्सक अभावका कारण धेरै बिरामीलाई काठमाण्डौ ल्याउनुपर्ने बाध्यता छ ।

धरानको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगञ्ज, पोखरा, सुर्खेत तथा धनगढीका प्रादेशिक अस्पतालहरूमा सरकारले निःशुल्क जलन उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरे पनि विशेषज्ञ जनशक्ति अभावले सेवा प्रभावकारी रूपमा विस्तार हुन सकेको छैन ।
 

प्रकाशित मिति:
थप विशेष