नेभिगेशन

पद छोड्नुअघि बेलायती प्रधानमन्त्री स्टार्मर युक्रेन भ्रमणमा

प्रधानमन्त्री पद छाड्नुअघि अन्तिम विदेश भ्रमणका रूपमा बेलायती प्रधानमन्त्री किअर स्टार्मर आज युक्रेन पुग्नुभएको छ । राजधानी किएभमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन आउँदा सरकारका पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

बेलायती सरकारका अनुसार आउँदो सोमवार प्रधानमन्त्री पदबाट बाहिरिनुअघि स्टार्मरले युक्रेनसँगको सुरक्षा, सहयोग र दीर्घकालीन साझेदारीबारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ ।

स्टार्मरको ठाउँमा एन्डी बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनुभएको छ । बर्नह्याम गएको शुक्रवार सत्तारूढ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चाल्र्स तृतीयसँग भेट गरी सोमवार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता बर्नह्याम बेलायतका पाँचौँ प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

घरेलु नीतिमा पटक–पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गएपछि स्टार्मरले गएको जुन २२ मा राजीनामाको घोषणा गर्नुभएको थियो । यद्यपि युक्रेनप्रतिको उहाँको अडान र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रियस्तरमा उहाँले उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो ।

स्टार्मरले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर सम्भावित शान्ति सम्झौतापछि युक्रेनको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय शान्ति सेना गठन गर्ने प्रयासको नेतृत्व गर्दै आउनुभएको थियो ।

यसैबीच बेलायतले गएको सोमवार युक्रेनका लागि युरोपेली सङ्घ (ईयू) ले घोषणा गरेको १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको सहायता ऋण कार्यक्रममा पनि सहभागिता जनाएको छ ।

प्रकाशित मिति:
थप विश्व