नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’ का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।

हर्मुज जलमार्गलाई केन्द्रमा राखेर चलिरहेकाे द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो । मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले गरिरहेकाे आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको हो ।

युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य द्वन्द्व पुनः तीव्र बनेको छ ।

अमेरिकाले इरानभित्रका पुल, विद्युत् पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ ।

इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरक्षा सतर्कता बढाएको छ ।

यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसकाे इच्छाशक्तिमा कमी रहेको आरोप लगाउनुभएको छ । उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो ।

सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएका शृङ्खलाबद्ध पोस्टमार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनुभयो । मोघादामले अमेरिकालाई शान्ति र स्थिरताको वास्ता नगरेको आरोप लगाउँदै उसका शान्तिसम्बन्धी आह्वान केवल भाषणबाजीमा सीमित भएको दाबी गर्नुभयो ।

यस विषयमा अमेरिकी पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति:
थप विश्व