नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा

अक्टोबर २०२३ मा युद्ध सुरु भएपछि शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ ।

गाजा सिटीमा स्थापना गरिएको ’फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले युद्धले प्रभावित बालबालिकालाई पुनः औपचारिक शिक्षामा फर्काउने प्रयास गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार युद्धका कारण ध्वस्त भएका विद्यालय भवन र विस्थापित परिवारका लागि आश्रयस्थलमा परिणत भएका शैक्षिक संस्थाको विकल्पस्वरूप काठका सामग्री प्रयोग गरेर कक्षाकोठा, डेस्क र बेन्च निर्माण गरिएको छ ।

यसअघि कतिपय स्थानमा पालभित्र अस्थायी सिकाइ केन्द्र सञ्चालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको थियो । हाल विद्यालयमा झण्डै ८५० जना विद्यार्थी अध्ययनरत छन् ।

निर्माण सामग्रीको चरम अभावका बीच निजी चन्दाको सहयोगमा वेफाक ह्युमानिटेरियन फाउण्डेसन ले विद्यालय निर्माण गरेको हो । बढीभन्दा बढी विद्यार्थीलाई समेट्न विद्यालयले तीन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ ।

गाजाको सञ्चार कार्यालयका अनुसार युद्ध सुरु भएयता गाजाका सबै विद्यालय पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसका कारण ६ लाख २० हजारभन्दा बढी विद्यार्थी नियमित शिक्षाबाट वञ्चित भएका छन् भने २० हजारभन्दा बढी विद्यार्थीले ज्यान गुमाइसकेका छन् । 

प्रकाशित मिति:
थप विश्व