नेभिगेशन

बेलायतकाे प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त

बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त हुनुभएको छ । ५६ वर्षीय बर्नहम एक दशकमा बेलायतको सातौँ र समग्रमा ५९औँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

गएको शुक्रवार लेबर पार्टीको नेता बन्नुभएका उहाँले आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्नुभएको हो । बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएका स्टार्मरले आजै राजा चार्ल्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनुभएको थियो ।

राजीनामा पत्र बुझाउनुअघि ‘डाउनिङ स्ट्रीट’ मा सम्बोधन गर्दै स्टार्मरले २ वर्षअघिभन्दा देश अहिले ‘बलियो’ बनेको बताउनुभएको थियो । नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने उहाँको भनाइ छ ।

सम्बोधनका क्रममा स्टार्मरले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा निकै बढेको दाबी गर्नुभयो ।

यसैबीच बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ । उहाँका मुख्य चुनौतीहरूमा सुस्त अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाहजस्ता जीर्ण सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्द्वहरूको व्यवस्थापन गर्ने तथा सरकारी संयन्त्रमा वर्षाैँदेखि कायम गतिरोध अन्त्य गर्ने कार्यहरू समावेश छन् ।

प्रकाशित मिति:
थप विश्व