नेभिगेशन

भारतमा कक्रोच जनता पार्टीद्वारा संसद् भवनतर्फ मार्च गर्ने प्रयास

भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको आह्वानपछि आज हजारौँ मानिसले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन् ।

विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भएका थिए । प्रदर्शनस्थलमा खटाइएका सयौँको सङ्ख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरूले सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रुग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ ।

सीजेपीको समर्थनमा २१ दिनदेखि अनशनमा बस्नुभएका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिवार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढेको हो । उहाँले अस्पतालमा पनि अनशन जारी राख्नुभएको छ ।

पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनीतिक संस्था भने होइन । प्रश्नपत्र बाहिरिनेसहित परीक्षामा हुने अनियमितताको विरोध गर्न गएको मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो ।

त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ । शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूको छ । तर प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई उच्छृङ्खल तत्वहरूको टाेली भन्दै आलोचना गर्नुभएको छ ।

सीजेपीका प्रवक्ता सौरव दासले पार्टीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले लगेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

भारतमा राजनीतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्षयता भारतको राजनीतिक सत्ताकेन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन । प्रदर्शनस्थलमा अत्यधिक गर्मीका कारण केही मानिस बेहोस भएका छन् ।

प्रकाशित मिति:
थप विश्व