नेभिगेशन

अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

काठमाण्डौ - अनसनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नुभएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले हिजो बेलुका डा. केसीसँग टेलिफोन संवाद गर्नुभएको थियो । त्यसपछि वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाएको हो मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिवले पनि धनगढीमा डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन थाल्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

डा. केसीको रगतमा चिनीको मात्रा घटेर ५० पुगेको र रक्तचापमा पनि उतारचढाव देखिएपछि उहाँलाई धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट अस्पताल लगेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ ।

मन्त्री मेहताले डा. केसीको अस्वास्थ्य अवस्थाबारे सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग कुरा गर्दै उपचारको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गर्नुको साथै थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाएको जनाएको छ ।

पाँच बुँदे माग राख्दै डा. केसी अस्ति बिहीबारदेखि अनसन बस्नुभएको हो । यसैबीच डा. केसीविरुद्ध स्थानीयवासीले भने विरोध प्रदर्शन गरेका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजेको स्थानीयवासीको आरोप छ ।  

Capture-1784979422.JPG
 

प्रकाशित मिति:
थप समाज