नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने

काठमाण्डाै – सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली २०८३ जारी गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको नयाँ नियमावलीअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाबाहेक अरू जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेश गर्नुपर्नेछ ।

सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

नागरिकता प्रमाणपत्र हराएमा, च्यातिएर काम नलाग्ने भएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ ।

यसअघि नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने व्यवस्था थियो ।

त्यस्तै विवाहअघि नागरिकता नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेश गर्नुपर्नेछ । पतिको मृत्यु भइसकेको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा पति वा सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाले उपस्थित भएर सनाखत गर्नुपर्नेछ ।

नयाँ नियमावलीले नागरिकता वितरणको अभिलेख सुरक्षित राख्नुपर्ने र निवेदकले पेश गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्नेछ । त्यसैगरी नागरिकता नम्बरलाई व्यवस्थित गर्न जिल्लागत तथा कार्यालयगत कोड, जारी वर्ष र क्रमसङ्ख्याका आधारमा नम्बर कायम गरिनेछ ।

प्रकाशित मिति:
थप समाज