नेभिगेशन

सुनसरी घटना : सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील

काठमाण्डाै – सुनसरीको देवानगञ्ज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ ।

देवानगञ्जमा गएराति दुई समूहबीच भएको झडप र त्यस क्रममा १ जनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो । भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

घटनापछि देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ ।

सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि रास्वपा सचेतक प्रकाशचन्द्र परियारसहितको टोलीले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएको छ । विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन् ।

सुनसरीमा भएको दुई समूहबीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायसहित सुझाव पेश गर्न गृह मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । बिहान गृहमन्त्री गुरुङको उपस्थितिमा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित ७ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

यसैबीच देवानगञ्जमा प्रदर्शनकारीले कर्फ्यु तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ ।

गएराति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा ‘डीजे’ बजाएपछि तनाव शुरू भएको बताइन्छ ।

तराई मधेशका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन् । केही समयअघि पर्सा, रौतहट र धनुषासहितका ठाउँमा यस्तै प्रकृतिको तनाव देखा परेको थियो । यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन् ।

विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसङ्ख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन् । यस्ता घटना रोक्न वा हुन नदिने स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउने नसकेको धेरैको ठहर छ ।

प्रकाशित मिति:
थप समाज