नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

९ वटा विधेयक संसद्‍मा पेश गर्न मन्त्रिपरिषद्काे स्वीकृति

काठमाण्डाै – सरकारले ९ वटा विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले विधेयक संसद‍्मा पेश गर्न स्वीकृति दिएकाे हाे ।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चयकोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न स्वीकृति दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली २०८३ समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति:
थप राजनीति