नेभिगेशन

कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ ।

सुनसरीको कप्तानगञ्ज घटना र त्यसपछि तराई/मधेशका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो ।

बैठकले पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

सङ्कटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहलकदमी लिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाण्डौमा उपलब्ध सुनसरी/मोरङलगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
थप राजनीति